उत्तर र दक्षिण कोरियाली नेताबीच अप्रिलमा वार्ता

0
Shares

सोल, (एजेन्सी)
उत्तर र दक्षिण कोरियाका नेताहरुबीच एक दशकपछि पहिलोपटक आगामी २७ अप्रिलमा शिखरवार्ता हुने भएको छ। उत्तर र दक्षिण कोरियाद्वारा बिहीबार संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीच सिमानामा रहेको पान्मुन्जोम गाउँमा सो वार्ता हुने तय भएको जनाइएको छ।

सो वार्ताको तयारीका लागि दुवै मुलुकका अधिकारीबीच भएको भेटघाटपछि यो तिथि घोषणा गरिएको हो। चिनियाँ राष्ट्रपति सि जिन्पिङ र किम जोङबीच ऐतिहासिक भेटवार्ता भएको खबर सार्वजनिक भएको भोलिपल्ट यो तिथि घोषणा भएको हो।

बेइजिङमा भएको वार्तामा किम जोङले पटकपटक कोरियाली प्रायद्वीपलाई आणविक मुक्त बनाउने प्रस्ताव अघि सारेका थिए। हालै मात्र किमले औपचारिक रूपमै आफूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न चाहेको बताएका छन्। गत महिना नै दक्षिण कोरियाद्वारा किमसँगको भेटवार्ताका लागि राखिएको प्रस्ताव ट्रम्पले स्वीकार गरेका थिए।

उनीहरुबीच चाँडोमा आगमी मे महिना भेटवार्ता हुनसक्ने अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषकहरुले अनुमान गरेका छन्। तर चीनका लागि अमेरिकी राजदूतले आफूलाई किमले कोरियाली प्रायद्वीपलाई आणविक खतरामुक्त बनाउने प्रस्ताव राखेकोमा विश्वासै नभएको बीबीसीलाई बताएका छन्।

अन्तर कोरियाली शिखर सम्मेलनका लागि उत्तर र दक्षिण कोरियाली प्रतिनिधि मण्डलले युद्धविराम गाउँको नामले पनि चिनिने पान्मुन्जोमको दक्षिण कोरियाली पिस हाउसमा सो वार्ता हुने जानकारी पत्रकारहरुलाई दिएका छन्। पत्रकार सम्मेलनमा उत्तरकोरियाली प्रतिनिधि मण्डलका प्रमुख रि सोन ग्वोनले भनेका छन्– ‘विगत ८० दिनभित्र अन्तर कोरियाली सम्बन्धलाई सकारात्मक प्रभाव पार्ने थुप्रै घटनाहरु घटेका छन्।’

सन् १९५३ मा युद्धविराम घोषणासँगै कोरियाली युद्ध रोकिएयता दुई देशका नेताहरुबीच यो तेस्रोपटक भेटवार्ता हुन गइरहेको छ। शान्ति सम्झौता नभई युद्धविराममा मात्र उक्त युद्ध टुंगिएकाले प्राविधिक रूपमा अझै पनि कोरियाली युद्ध जारी रहेको मानिन्छ।