कारागार आगलागीमा ६८ को मृत्यु

0
Shares

काराकास, (एजेन्सी)
भेनेजुयलाको काराबोबो राज्यको भेलेन्सियास्थित प्रहरी चौकीको जेलमा भएको आगजनीमा ६८ जनाको मृत्यु भएको छ। प्रहरी चौकीमा रहेका केही कैदी जेलबाट भाग्ने योजना बनाइरहेको र भाग्ने प्रयासका क्रममा उनीहरुले केही ठाउँमा आगजनी गरेको भेनेजुयलाका अधिकारीहरुले जानकारी दिएका छन्। सरकारका वरिष्ठ अधिकारी जिसस सेनटेन्डियरले त्यहाँको स्थितिलाई नियन्त्रणमा लिइसकेको बताए। उक्त घटनापछि राज्यमा शोक मनाइएको उनले बताए।

राज्यका मुख्य अधिवक्ता टारिक साबले आफूले तत्काल घटनाको जाँचका लागि आदेश दिएको बताए। जेलमा कसरी आगलागी भयो भन्ने विषयमा आधिकारिकरूपमा जानकारी दिइएको छैन। यद्यपि जेलको स्थितिमाथि निगरानी गर्ने संस्था ‘उना नेन्टाना अ ले लिबर्टार्ड’ ले आफ्नो प्रतिवेदनमा एक कैदीले एक प्रहरी अधिकारीको खुट्टामा गोली चलाएको उल्लेख गरेको छ।

त्यसको केही समयपछि जेलभित्रको ओछ्यानहरुमा आगो लगाइएको थियो। आगो तीव्ररूपमा फैलिएको र त्यसले सम्पूर्ण प्रहरी चौकी चपेटामा आएको प्रत्यक्षदर्शीले बताए। धेरैजसोको जलेर ज्यान गएको र केहीको धूवाँले निस्सासिएर मृत्यु भएको बताइएको छ।

सेनटेन्डियरले एक प्रहरी अधिकारीलाई गोली लागेको पुष्टि गरेका छन्। उद्धार टोलीका कर्मचारीहरुले जेलको पर्खाल भत्काएर त्यहँँ फसेकालाई बाहिर निकालेका थिए। मृत्यु हुनेमा धेरैजसो कैदी भएको बताइएको छ। मारिनेमा दुई महिला पनि परेका छन्। उनीहरु आफ्नो नोतेदारलाई भेट्न जेल पुगेका थिए।

आगलागीको समाचार बाहिर आएपछि जेलमा रहेका कैदीका परिवार सदस्यहरुले प्रहरी चौकी अगाडि प्रदर्शन गरेका थिए। उनीहरु जलेमा रहेका आफन्तको बारेमा जानकारी मागिरहेका थिए। प्रहरीले उनीहरुलाई तितरबितर पार्न अश्रु ग्यासको प्रयोग गरेका थिए।

घटनास्थलमा आइपुगेकी एक आफन्त आइडा पर्राले एक दिनअगाडि मात्रै आफ्नो छोरासँग भेटेकी थिइन्। उनले भनिन्– ‘मलाई थाहा छैन मेरो छोरा जिउँदै छ या मरिसक्यो। उनीहरु मलाई केही भनिरहेका छैनन्।’

भेनेजुयलामा आर्थिक संकटका कारण कैदीको स्थिति सुधार्न कुनै काम हुन सकेको छैन। त्यसैले भेलेन्सियामा अस्थायी जेललाई प्रयोग गर्दै आइरहेको थियो। यहाँ प्रहरीले कैदीलाई ४८ घण्टासम्म मात्र राख्न सक्छ।

जेलहरुमा क्षमताभन्दा पाँच गुणा बढी कैदी राख्ने गरेको पाइएको निगरानी संस्थाले जनाएको छ। गत वर्ष अस्थायी जेलमा भएको हिंसा, रोग र कूपोषणका कारण ६५ जनाको मृत्यु भएको थियो।

भेनेजुयलामा अहिलेसम्मका जेल दुर्घटना

सन् २०१७ मा देशको दक्षिणमा एक जेलमा भएको दंगामा ३७ जनाको मृत्यु भएको थियो। उक्त हिंसामा १४ अधिकारी घाइते भएका थिए। हिंसा भएको बेला जेलमा कुल १ सय ५ कैदी थिए।

सोही वर्षको मार्चमा देशको केन्द्रस्थित गुआरिको राज्यमा देशको सबैभन्दा ठूलो जेलमा सामूहिक चिहान फेला परेको थियो। त्यहाँबाट १४ शव प्राप्त भएको थियो। केही महिनाअगाडि जेलमा भएको हिंसापछि त्यसलाई बन्द गरिएको थियो। जेलमा मर्मतको कामका क्रममा उक्त सामूहिक चिहान फेला परेको थियो।

सन् २०१५ सेप्टेम्बरमा भेनेजुयलाको भेलेन्सिया सहरको टोकुयिटो जेलमा आगलागी हुँदा १७ जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए। त्यसै गरी सन् २०१३ जनवरीमा बार्किसिमेटो शहरको अर्बनिया जेलमा भएको हिंसामा ६१ जनाले ज्यान गुमाएका थिए। उक्त घटनामा १ सय २० भन्दा धेरै घाइते भएका थिए।