मागअनुसार न्यायाधीश अपुग



काठमाडौं, (नेस)
न्याय सेवा आयोगले पहिलो पटक न्यायाधीश पदपूर्तिका लागि लिएको लिखित परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। आयोगले जिल्ला न्यायाधीशका लागि ३० जनाको कोटा निर्धारण गरेको थियो। जसमा १६ जनाले नाम निकालेको न्याय सेवा आयोगका सहसचिव निर्मला पौडेलले जानकारी दिनुभयो।

न्यायाधीश पदमा ४ सय २४ जनाले आवेदन फर्म भरेका थिए। समावेशीअन्तर्गत रहेको मधेसी र दलित कोटामा कुनै पनि उम्मेदवार उत्तीर्ण नभएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा भनिएको छ– ‘आयोगले लिएको परीक्षामा १६ जनाको विभिन्न समूहमा नाम निस्किएको छ। आयोगको चैत १३ गतेको निर्णयअनुसार नामावली प्रकाशित गरिएको हो।’

उत्तीर्ण हुनेमा अधिकांश न्याय सेवाका कर्मचारी रहेका छन्। पहिलो पटक जिल्ला न्यायाधीश खुला प्रतिस्पर्धाबाट भएको पदपूर्तिमा करिब २ सय कानुन व्यवसायी सहभागी भएका थिए। तर, अधिकांश लिखित परीक्षामा पास हुन नसकेको बताइएको छ। न्यायपरिषद्ले उत्तीर्ण भएकालाई प्रक्रिया पूरा गरी जिल्लामा न्यायाधीशका रूपमा खटाउनेछ।

प्रतिक्रिया दिनुहोस्