टिकट खरिद बिक्रीको आरोप



काठमाडौं, (नेस)
नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा केही केन्द्रीय सदस्यहरूले पार्टी नेतृत्वमाथि चुनावमा टिकट खरिदबिक्री गरेको आरोप लगाएका छन्।

पार्टीभित्र देखिएको अन्तर्घात रोक्न सके र परिवारवाद हाबी हुन नदिए मात्रै पनि पार्टीलाई जीवित तुल्याउन सकिने उनीहरूको धारणा छ। बैठकमा बोल्दै कांग्रेस केन्द्रीय सदस्य डा. रामशरण महतले पार्टीको साधारण सदस्यसमेत नरहेको व्यक्तिलाई टिकट दिइनुले पनि पार्टीले पराजय बेहोर्ने अवस्था आएको बताउनुभएको थियो। अर्का केन्द्रीय सदस्य धनराज गुरुङले टिकट बिक्री भएको भन्दै छानबिन गरिनुपर्ने माग गर्नुभयो।

यस्तै केन्द्रीय सदस्य बलबहादुर केसीले पार्टीलाई चुस्तदुरुस्त बनाउन नेतृत्वतह गम्भीर भएर अघि बढ्नुपर्ने बताउनुभएको थियो। उहाँले टिकट खरिद बिक्रीमा पार्टी सभापति शेरबहादुर देउवा मात्र नभएर भाउजू आरजु राणाको समेत संलग्नता रहेकाले छानबिन गर्नुपर्ने माग गर्नुभएको बताइएको छ। उहाँले संसद्को टिकटका लागि घरजग्गा लिने दिनेसम्मका काम भएको रिपोर्टहरू जिल्लाजिल्लाबाट आएकाले छानबिन गरेर दोषीमाथि कारबाही गर्न माग गर्नुभएको थियो।

आगामी रणनीति तय गर्न डाकिएको केन्द्रीय समितिको बैठकमा टिकट खरिद बिक्री प्रकरण प्रवेश गरेपछि कांग्रेसको भावी रणनीति के हुने भन्ने अन्योलमा परेको छ।

प्रतिक्रिया दिनुहोस्