आईजीपीलाई भनेर थुनाएको निर्माता गिरीको दाबी

0
Shares

रश्मी थापा, काठमाडौं
र्देशक शम्भु प्रधानले आफ्नो चलचित्रको गीत चोरी गरेको उजुरी दिएपछि महानगरीय प्रहरी परिसर टेकुले मंगलबार नियन्त्रणमा लिएको कृ फिल्मका निर्माताले कागजात र उजुरीबिनै प्रहरीले धम्क्याएर ११ लाख रुपियाँ तिराएको बताएका छन्।

२०४३ सालमा बनेको सम्झना नामक चलचित्रका निर्माता निर्देशक शम्भु प्रधानले आफ्नो चलचित्रको उकालीमा पछि पछि बोलको गीत चोरी गरेको उजुरी दिएको भन्दै महानगरीय प्रहरी परिसर टेकुले मंगलबार परिसरमा बोलाएर थुनामा राखी निर्देशक प्रधानलाई बुधबार ११ लाख रुपियाँको चेक दिन लगाएको निर्माता सुवास गिरीले बताए।

चलचित्रका अर्का निर्माता भुवन केसीसँगै बिहीबार पत्रकार सम्मेलन गरी गिरीले काठमाडौं महानगरीय प्रहरी परिसरले छलफलका लागि भनेर बोलाएकाले पटक–पटक आफैं सम्पर्क गरी प्रहरीकहाँ जाँदै आएको र मंगलबारसमेत छलफलकै लागि जाँदा अपहरणको शैलीमा थुनामा राखेको दाबी गरे।

‘शम्भु प्रधान दाइले उजुरी गर्नुभएको छ भनेर खबर आएपछि पटक–पटक म आफैंले सम्पर्क गरेर परिसर गएको थिएँ। मंगलबार पनि छलफलकै लागि भनेपछि केही बेर शम्भु दाइ बाहिर गएकाले क्यान्टिनमा बसेर चिया खाइरहेको बेला सादा पोशाकका प्रहरीले एकछिन आउनुस् भनेर लगी थुनामा राखे’, पत्रकार सम्मेलनमा गिरीले भने– ‘पछि आईजी सापले राख्नु भन्नुभएको भन्दै थुनामा राखेको प्रहरीले दाबी गरे।’

‘मेडिकल गर्न जाँदा अरू अपराधीलाई जस्तै मलाई पनि हातमा हतकडी लगाएर लगियो। हतकडी लगाएर कस्टडीमा राख्नुपर्ने मैले के अपराध गरेको थिएँ? म भागेर हिँडेको पनि थिइनँ। आफैं सम्पर्क गरेर गएको थिएँ।
विदेश जाँदासमेत डीएसपी मोहनबहादुर थापालाई भनेर गएको थिएँ।

बुधबार प्रधानले प्रहरीकै अगाडि २१ लाख रुपियाँबाट बार्गेनिङ शुरु गर्नुभयो र ११ लाख रुपियाँ दिने सर्तमा सहमतिमा आउनुभयो। शम्भु दाइसँगै डीएसपी र एसपी सापले पनि उहाँले भनेको मान्ने भए मान्नु नत्र २४ दिन कस्टडीमा बसेर मुद्दा लड्नु भने।’ –गिरीले भने। आजसम्म जेल नदेखेको मान्छे म आत्मसम्मानको लागि ५० लाख पनि तिर्न तयार थिएँ। आत्मसम्मानको अगाडि ११ लाख रुपियाँ ठूलो कुरा मानिनँ। र ११ लाखको चेक दिएपछि मिलापत्र गरेर पठाइएको दाबी गिरीले गरेका छन्।

कृका अर्का निर्माता भुवन केसीले संगीतकार रञ्जित गजमेरले सम्झना फिल्म खेल्नका लागि बम्बई बोलाएपछि गएको र शम्भु प्रधानको काम देखेपछि तपाईंहरूजस्तो मान्छेको नेपालमा खाँचो छ भनेर बोलाएको स्मरण गर्दै उनीजस्तो निर्देशक आफ्नो फिल्मको गीतको केही अंशमा नयाँ कलाकारलाई देख्दा खुसी हुन्छन् भन्ने लागे पनि प्रहरी लगाएर थुनाउने र पैसा असुल्ने हरकतले आश्चार्यचकित भएको बताए।

‘यो फिल्म सुवास गिरीले बनाउने भएपछि पहिला चलचित्र विकास बोर्डमा उहाँको नाममा दर्ता भएको थियो। पछि आन्तरिक सम्झौता गरेर म पनि निर्मातामा थपिएँ। प्रधानको सम्झनामा मेरो पनि योगदान छ।’ –केसीले पत्रकार सम्मेलनमा बताए।

‘यो हिसाबले सम्झनाको त्यो गीतको २⁄४ लाइन, ३० सेकेन्ड जति हामीले प्रयोग गर्यौं। हामीलाई लागेको थियो यति प्रयोग गर्दा प्रधानले के नै भन्नुहोला र? गीतको थोरै अंश प्रयोग गरे पनि अनुमति लिनुपर्छ भनेर यसको राइट्स कोसँग छ भन्ने बुझ्दा म्युजिक नेपालसँग रहेको थाहा भएपछि सन्तोष शर्मासँग कुरा गर्यौं,’ भुवनले भने –उहाँले मेरो केही अब्जेक्सन छैन भन्नुभएकाले फिल्ममा राख्यौं। प्रधानलाई फिल्म हेर्न प्रिमियरमा पनि बोलायौं। त्यसअगाडि पनि कुरा भएको थियो। उहाँले तपाईं बीचमा नआउनुस् भन्नुभयो। फिल्मबाट भएको कमाइ वा लगानीको होइन, फिल्मले गरेको कारोबारको ५० प्रतिशत चाहिन्छ भन्नुभयो।’

‘मलाई लागेको थियो आफ्नो फिल्मको गीतमा नयाँ कलाकारलाई देख्दा उहाँ खुसी हुनुहुन्छ। तर, उहाँ त पुलिस लगाएर थुनाउने र पैसा असुल्नेतिर लाग्नुभयो। धेरै समयदेखि ओझेलमा पर्नुभएको थियो, यो कुराले ३ करोड नेपाली र सिंगो इन्डस्ट्रीले उहाँलाई चिन्यो। उहाँले मागेको भए २० लाख रुपियाँ पनि दिन्थ्यौं। तर, १० लाखमै आफ्नो औकात सक्काउनुभयो।’ –केसीले भने।

निर्माता निर्देशक प्रधानलाई सम्पर्क गर्दा भने फिल्म रिलिज भएको १० दिनपछि मात्र गीत चोरिएको फेसबुकमार्फत थाहा पाएपछि हटाउन भनेको र अदालत जान्छु भन्दा हर्जाना तिर्छु मुद्दामा नजाउँ भने पनि ताकेता गर्दासमेत सम्पर्क नआएकाले उजुरी दिएको दाबी गरे। ‘महिना दिनसम्म बोलाएको बेला नभेट्ने, ढाट्ने, कहिले विदेश जाने गरेर दुःख दिएकाले अन्तिममा उजुरी दिएको हो। पैसा कमाउन यो काम गरेको होइन। मैले पहिला एक रुपियाँ पनि मागेको थिइनँ र आईजीपीलाई भनेर थुनाएको पनि होइन।’ –शम्भुले नेपाल समाचारपत्रसँग कुरा गर्दै भने।