महाकाली बचाऔं

0
Shares

जिल्लाको सरसफाइ रणनीतिक योजनाअनुसार सबै स्थानीय तह खुल्ला दिसामुक्त घोषणा भइसक्दासमेत सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकाको बजार क्षेत्रका दर्जनौँ घरधुरीले सीधै महाकाली नदीमा शौचालयको ढल मिसाएका कारण महाकाली दुर्गन्धित भएको छ । सीमा क्षेत्रको पवित्र नदीका रूपमा रहेको महाकाली किनारमै घर बन्न थालेपछि नदीछेउछाउमा बढ्दै गएको अव्यवस्थित बस्ती र होटल व्यवसायका कारण प्रदूषित बन्ने क्रम बढ्दै गएको छ । नदीकिनारको बाङ्गाबगरदेखि पुलघाट हुँदै तिङ्कर खेडासम्मको बस्तीका घर तथा होटलको शौचालयबाट निस्कने फोहोर सीधै महाकाली नदीमा मिसाइँदै आएको छ ।

बजारक्षेत्रमा ९३ घरधुरीमा विनासेफ्ट्यिांङ्कीका शौचालयका ढल सीधै महाकाली नदीमा मिसाउने गरेको पाइए पनि खुल्ला दिसामुक्त जिल्ला घोषणाको तयारी हुन लाग्दा यसको विरोध हुँदै आएको थियो । तर सम्बन्धित निकायले यसलाई रोक्न पहल नगरेको पाइएको छ ।

–शिशिर रिजार, दार्चुला

वैद्यनाथ मन्दिरको संरक्षण जरुरी

नेपालका चार धाममध्येको एक अछामको वैद्यनाथ धाम मन्दिर कटानको उच्च जोखिममा परेको छ । धार्मिक तथा ऐतिहासिक वैद्यनाथ मन्दिरनजिकै भएर बग्ने बूढीगंगा नदीले बर्सेनि कटान गर्दै गएको छ । कटान रोक्नका लागि धेरै पहल भए पनि प्रभावकारी हुन सकेको छैन । वि.सं. २०८६ मा छिपेखोलामा आएको बाढीले वैद्यनाथ क्षेत्रका सबै संरचना बगाएको थियो । मन्दिर क्षेत्रका सबै संरचना बगाए पनि त्यहाँ रहेको शिवलिङ्ग भने यथास्थानमै फेला परेको थियो । शिवलिङ्ग फेला परेपछि फेरि मन्दिर स्थापना गरी पूजाआजा गर्ने कार्य शुरु गरिएको थियो । नदीले बर्सेनि मन्दिर क्षेत्रको जमिन कटान गर्न थालेपछि अब यसको उचित संरक्षण गर्न जरुरी देखिएको छ ।

धार्मिक तथा ऐतिहासिक क्षेत्रको कटान रोक्नका लागि सरोकारवालाहरूले ध्यान दिनुपर्ने अवस्था छ । विगतमा जल उत्पन्न प्रकोप कार्यालय र तत्कालीन जिल्ला विकास समितिका पहलबाट कटान रोक्न प्रयास गरे पनि त्यो प्रभावकारी भएन । सबै बजेट बालुवामा पानी खन्याएजस्तै भएको छ । कटान रोक्नका लागि पहल नभएको भने होइन, काम धेरै भयो, तर बर्सेनि नदीमा आउने बाढीले कटान गर्दै लैजाने गरेको छ । यस विषयमा सरोकारवाला पनि गम्भीर भएको बताउँछन् । पहल भएको जस्तो पनि लागेको छ । तैपनि दीर्घकालीन र दिगो रोकथामका लागि मन्दिरको संरक्षण र संवद्र्धनका लागि अब ठोस योजना बनाएर अगाडि बढ्न जरुरी छ । मन्दिरवरिपरिको भूभाग कटान हुन नदिन प्रभावकारी तटबन्धनको निर्माण गर्न जरुरी देखिएको छ ।
–सुरज कामी, अछाम

बेनी–जोमसोम सडक छिटो बनाऊ

बेनी–जोमसोम सडक स्तरोन्नति गर्ने भनेको पनि धेरै समय भयो । समयमै काम नसक्दा फेरि बन्द गर्ने समाचार नेपाल समाचारपत्रको अनलाइन पोर्टल न्यूज अफ नेपालमा पढियो । यसले गर्दा दुई–चार शब्द लेख्न मन लागेर लेख्ने जमर्को गरेको छु । आशा छ, सम्पादकज्यूले पाठकपत्रमा यसलाई स्थान दिनुहुनेछ । स्तरोन्नति कार्यलाई तीव्रता दिन भनेर बेनी–जोमसोम सडकखण्ड दैनिक ८ घण्टा बन्द गरिने कुरा बाहिर आएको छ ।

राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर सडकअन्तर्गत पर्ने ७६ किलोमिटर बेनी–जोमसोममा ६ महिनादेखि विभिन्न चार खण्डमा कार्य भइरहेको छ । मुक्तिनाथ र दामोदरकुण्डको दर्शन, कागबेनीमा स्नान तथा मुस्ताङको प्राकृतिक सुन्दरतामा रमाउन स्वदेशी तथा विदेशी पर्यटकको चापका कारण निर्माण पक्ष र यात्रु दुवैलाई समस्या हुने भन्दै शुक्रबारदेखि ८ घण्टा सडक पूर्णरुपमा बन्द गर्ने निर्णय भइसकेको छ ।

बाटो बन्द गरेर सडक छिटो सम्पन्न गरे त केही समय समस्या पर्दा पनि सहन हुन्थ्यो । तर यहाँ काममा त्यति महत्व नदिएर ढिला भएमा समस्या सिर्जना हुन्छ । ठेकेदार कम्पनीले पनि सबै स्थानीयको दुःख बुझेर छिटोभन्दा छिटो काम सम्पन्न गर्नतिर लाग्नु जरुरी छ । बिहान ७ः३० देखि ११ः३० बजेसम्म र दिउँसो २ः३० देखि ६ः३० बजेसम्म सडक पूर्णरुपमा बन्द गर्ने निर्णयको विरोध गर्न खोजेको हैन तर उक्त समयमा काम तीव्र गतिमा सञ्चालन हुन जरुरी छ ।

चैत महिना लागेदेखि पर्यटकको चाप पनि निकै बढेको छ । यसले निर्माण कार्य पनि प्रभावित भएको छ भने यात्रु पनि समयमै गन्तव्यमा पुग्न सकेका छैनन् । यो यथार्थलाई हामी सबैले आत्मसात् गरेका छौं । निश्चित समय तोकिएपछि निर्माण कार्य र यात्रु पनि सोहीअनुसार यात्रा गर्छन् । आयोजनाका अनुसार, बेनी–जोमसोम सडकखण्डमा गलेश्वरदेखि भुरुङ–तातोपानीसम्म शर्मा युनाइटेड जेभी, तातोपानीबाट मुस्ताङको कोबाङसम्म शर्मा गजुरमुखी जेभी र कोबाङदेखि जोमसोमसम्म कोशी कन्ट्रक्सनले काम गरिरहेको छ ।

गजुरमुखीले दुईखण्ड गरी सबैभन्दा बढी ३७ किलोमिटर सडक स्तरोन्नतिको जिम्मा लिएको छ । यो अवधिमा गलेश्वरदेखि घाँसासम्म पूर्णरुपमा सवारीसाधन सञ्चालनमा रोक लगाएर काम तीव्र गतिमा सञ्चालन गर्नु जरुरी छ । तर घाँसादेखि माथि वैकल्पिक मार्ग पनि रहेका कारण केही खुल्ला गर्न पनि जरुरी छ । आउँदो वर्षासम्म गलेश्वर–घाँसासम्मको कार्य सम्पन्न गर्न पनि यो निर्णयको विरोध भएको छैन । काममा भने विश्वसनीयता देखाउन जरुरी छ ।
– मनोज नेपाली, म्याग्दी