नेपालको विकास धेरै वर्षसम्म स्थिर रहेको देखिन्छ। तर वि.सं. २०६२।०६३ को जनआन्दोलानपश्चात् नेपालमा धेरै परिवर्तन भएको मानिन्छ। हो यहाँ परिवर्तन भएको छ। म यस परिवर्तनलाई स्वीकार्छ्ु तर परिवर्तनको नाममा राष्ट्रियता, नेपाली पहिचान र स्वाभिमान भने गुमेको छ। प्राकृतिक सम्पदाहरू नासिएका छन्, विकृति बढेको छ। यहाँका नेताहरू भन्ने गर्छन्– ‘हामीले विकास गर्यौं, परिवर्तन गर्यौं, देशलाई नयाँ मोडमा लैजाँदै छौं। बाटो खनेर पूरै डाँडाकाँडामा पुर्यायौं।’
अब नारी पछाडि पर्दैनन्। किनकि सारीचोली लगाउने नारीले आज पाइन्ट, मिनी स्कट र छोटा लुगा लगाउन थालिसकेका छन्। संघीयताको दिशातिर देश अगाडि बढिसक्यो। एउटा राजधानीलाई ७ वाटा बनाइएको छ। अब राष्ट्रिय भाषा नेपाली मात्र हैन, सबै भाषा राष्ट्रिय हुनेछन्। सबै विद्यालयमा नेपाली मात्र हैन, अंग्रेजी माध्यममा पढाउनुपर्ने कुरा अगाडि बढेको छ। विदेशीको अनुदान र ऋणले देशको विकास हुँदै छ।
थोरै भएको संसदीय व्यवस्थालाई समावेशीकरण बनाउनको निमित्त धेरै सांसदको संख्या गरिएको छ। अब १३ दिन हैन, ५ दिन क्रिया बसे पुग्छ। यथाशक्ति जसले जे पनि बोलिरहेका छन्। के अहिलेका दलहरूले गरेजस्तो विकास नै आजको आवश्यकता हो त? के उनीहरूको परिकल्पनाको विकासबाट हाम्रो नेपाल अगाडि बढ्न सक्छ त? के अहिले भैरहेको विकास दिगो र भर पर्दो अनि उनीहरूले भनेजस्तै राष्ट्रको हितमा छ त?
विकासको नाममा बाटो खनेर डाँडा नै धुस्रैफुस्रै बनाउँदा प्राकृतिक सम्पदालाई के–कति असर गर्छ भनेर सोच्ने कि नसोच्ने? म विकास विरोधी हैन तर विकास गर्दा प्राकृतिक सम्पदा र हाम्रो सांस्कृतिक सम्पत्तिको जोगेर्ना गर्नुपर्छ भन्ने मान्यता राख्दछु। बाटो खन्दा जङ्गलको बीचबाट खन्नुभएन, बम ब्लास्ट गर्नुभएन भन्न खोजेको हो। जब कि ती प्रविधिहरूले कति जीव, बोटबिरुवा नाशिएका छन्? हिमालमा हिउँ कम पर्न लागेको छ, हावा दूषित भएको छ, पानीका मुहान सुक्दै गएको छन्।
मौसमअनुसार पानी परेको छैन। सभ्यताका नाममा भित्र्याइएका पाइन्ट, मिनी स्कट र अरू छोटा लुगाले विदेशी संस्कृति र विकृतिको हाबि हुँदै गएको छ। यो प्रभावले एकातिर हाम्रो देशको संस्कृतिको लोप हुँदै गएको छ भने अकाएतिर बलात्कार बढेको छ। यसरी नै यो प्रवृत्ति बढ्दै जाने हो भने सधैँ पूजापाठ गरेर हाम्रो संस्कृति जोगाउने कैयौं हजुरबहरू रक्सीको बोतलमा देखिनेछन्।
गुन्युचोली र सारीमा देखिने हजारौं हजुरआमाहरू मिनी स्कटमा नदेखिएलान् भन्न सकिँदैन। अंग्रेजी भाषाको भूतले गर्दा नेपाली भएर नेपाली भाषा पनि बोल्न नजान्ने अवस्था छ। यसरी नै चलिरहने हो भने गीता, वेद, पुराण र अन्य धार्मिक ग्रन्थ पनि अंग्रेजी भाषामा परिवर्तन गर्ने हो कि सरकार?
– उज्वल अधिकारी, कठजोर, रामेछाप
हालः सरस्वती बहुमुखी क्याम्पसमा अध्ययनरत
धारामा पानी कहिले आउँछ?
भक्तपुर नगरपालिकाभित्र खानेपानीको चरम अभाव भए पनि कसैले ध्यान दिएका छैनन्। काठमाडौँं उपत्यका खानेपानी लिमिटेडले हप्तामा एकदिन मात्र पानी वितरण गर्न थालेपछि यहाँ खानेपानीको अभाव व्यापक भएको छ। ११ दिन भइसक्यो, धारामा पानी आएको छैन। इनारमा पनि पानी छैन। कति किनेर खाने? यहाँ पढ्ने विद्यार्थीलाई समस्या भएको छ। बिहीबार पानी आउने आशमा रित्ता गाग्री लिई धारा कुरेर बसिरहनुपरेको छ।
चुनावताका मत माग्न आउँदा सबै समस्याको समाधान गर्ने बाचा गरेका जनप्रतिनिधिले अहिले नाकमुख देखाएका छैनन्। दैनिक अत्यावश्यक खानेपानीको व्यवस्था गर्न उनीहरूले मतलव नै गरेका छैनन्। धारामा पानी आउने ठेगान छैन। आज आउँछ, भोलि आउँछ भन्दाभन्दै दुई हप्ता नाघिसक्यो। केही सातायता इताछें, वंशगोपाल, वाराहीस्थान, व्यासीलगायत ठाउँमा धारामा ढल मिसिएको पानी आएको समेत देखिएको छ। धारामा पानी आउँदा कहिले कालो लेदो त कहिले साबुनको फिँजजस्तो पानी आउँछ। यसमा पनि सकैले ध्यान दिएको छैन। यो विषयमा छिटो ध्यान जाओस्।
– सुरज चपागाईं, भक्तपुर
दमकल अभाव भयो
सुख्खा मौसमसँगै दैनिकजसो आगलागी हुने गरे पनि भरतपुरको स्थानीय तहमा आगो निभाउनका लागि दमकल अभाव भएको छ। भरतपुर महानगरपालिकामा रहेका २ वर्ष पुराना दुईवटा दमकल बिग्रिएका छन्। एउटा दमकल ६ महिनादेखि थन्किएको छ भने अर्को भर्खरै बिग्रिएको छ। ६ महिनाअघि थन्किएको जर्मन मर्सिडिजको ५ हजार लिटर क्षमताको दमकलको क्लज सिलिन्डरमा समस्या देखिएको छ, जसको पार्टपुर्जा पाउन कठिन भएको कुरा कर्मचारीले बताउँदै आएका छन्।अर्को ४ हजार क्षमताको भारतीय टाटा कम्पनीको २१ वर्ष पुरानो दमकल चल्ने र बिग्रने भइरहेको छ। राप्तिवारिको पूरै चितवन र गैँंडाकोट क्षेत्र एउटा दमकलले धानिरहेको छ। ठूलो आगलागी भए यहाँ के हुने हो भन्न सकिने अवस्था छैन। माडी नगरपालिकामा एउटा दमकल छ। राप्तिवारिको एक महानगरपालिका, चार नगरपालिका र एउटा गाउँपालिकालाई एउटै पुरानो दमकलको सहाराले आगो निभाउनुपर्ने बाध्यता छ। गर्मी मौसमसँगै हुने आगलागी नियन्त्रणका लागि र क्षति कम गर्न दमकल आवश्यक छ। यो विषयमा जनप्रतिधिले पहल चाल्नुपर्ने देखियो।
– मञ्जु केसी, चितवन
प्रतिक्रिया