नर्भ एजेन्ट हमला विवाद, अमेरिका र युरोपेली कदमविरुद्ध कडा जवाफ दिने रुसको चेतावनी

0
Shares

नेटोबाट ७ कूटनीतिज्ञ निष्कासित
मस्को⁄वासिङ्टन, (एजेन्सी)
रुसका उपविदेशमन्त्री सर्गेइ रयाबकोवले रुसी कूटनीतिज्ञहरु निष्कासित गर्ने वासिङ्टन र युरोपेली युनियनको निर्णयविरुद्ध मस्कोले कडा जवाफ दिने बताए। रुसमाथि बेलायतमा आफ्ना पूर्व जासुस तथा उनकी छोरीमाथि नर्भ एजेन्टबाट हमला गरेको आरोप छ।

‘अमेरिकाले फेरि एकपटक झुठो आरोप लगाएको छ र यो सबै स्थितिलाई उल्टाउने प्रयास हो’, रयाबकोवले भने– ‘हामी सकारात्मक कार्य गर्नका लागि तयार छौं। हामी यसलाई जारी राख्ने छौं, तर हाम्रा कूटनीतिक दूतावासविरुद्ध अमेरिकी अधिकारीहरुको हिजोको निर्णयपछि हाम्रोतर्फ कडा जवाफ बिना विद्यमान स्थिति जारी रहनेछ।’

रुसले वासिङ्टनसँग सामरिक स्थिरता वार्तालाई पनि अन्त्य नगरेको रयाबकोवले जानकारी दिए। उनले वार्ता आवश्यक भएको र रुसले वार्ता अन्त्य नगरी जारी राख्ने बताएका थिए। अमेरिकाले सोमबार बेलायतमा पूर्व रुसी गुप्तचर र उनकी छोरीमाथि नर्भ एजेन्ट हमला भएको मामिलामा अन्य युरोपेली देशलाई समर्थन गर्दै ६० जना रुसी कूटनीतिज्ञलाई निष्कासित गरेको थियो। बेलायतको साल्सिब्युरीमा भएको उक्त आक्रमणमा परेका दुवैका स्थिति गम्भीर रहेको बताइएको छ।
सम्बन्ध सुधार्न चाहन्छ यसैबीच ह्वाइट हाउसले अमेरिका रुससँग आफ्नो सम्बन्ध सुधार्न चाहन्छ तर त्यसका लागि पहिला उसले आफ्नो व्यवहार बदल्नुपर्ने जनाएको छ। दैनिक प्रेस सम्मेलनमा ह्वाइट हाउसका प्रवक्ता सारा सेन्डर्सले अस्थिरता बढाउने कदमको कडा प्रतिक्रिया हुन्छ भन्ने तथ्यलाई रुसले बुझ्नुपर्ने बताए।

अमेरिकाले रुससँग राम्रो सम्बन्ध बनाउन चाहेको तर रुसी सरकारले उसको अस्थिरता फैलाउने कदमको गम्भीर परिणाम हुने बुझ्नुपर्ने पनि उनले बताइन्। रुसविरुद्धको कारबाहीमा अमेरिका र युरोपेली देशहरुको ऐक्यबद्धतामा अस्ट्रेलिया, नेटो र आयरल्यान्डले पनि साथ दिएको छ।
नेटोका महासचिव एन्स स्टोलटेनबर्गले ७ जना रुसी कूटनीतिज्ञलाई निष्कासन गरेको घोषणा गरेका छन्। साथै अन्य ती रुसी कूटनीतिज्ञलाई मान्यता दिने दरखास्त पनि अस्वीकृत गरिएको उनले जानकारी दिए। उनले यो कदम रुसले देखाइरहेको व्यवहारका लागि उसले मूल्य चुकाउनुपर्ने सन्देश दिन चाहेको बताए।

नेटोको उक्त फैसलापछि विगत दुई दिनमा २७ देशबाट १ सय ४० भन्दा धेरै रुसी कूटनीतिज्ञ निष्कासित भएका छन्। रुसले नर्भ एजेन्ट आक्रमणको आरोप आधारहीन भएको बताएको छ। रुसी विदेश मन्त्री सर्गेइ लाभारोफले नेटोको उक्त प्रतिक्रियाको पछाडि अमेरिकाको ब्ल्याकमेल गर्ने नीति भएको बताए। नेटोका रुसी कूटनीतिज्ञको निष्कासन गर्ने फैसलापछि नेटोमा रुसी प्रतिनिधिमण्डल एक तिहाइमा झरेको छ।