कांग्रेस बैठकमा जिल्लाको प्रतिवेदनलाई बेवास्ता

0
Shares

रामकृष्ण चापागाईं, काठमाडौं
हालै सम्पन्न निर्वाचनमा लज्जास्पद हार व्यहोरेपछि निर्वाचनको विस्तृत समीक्षा गर्न एक सातादेखि लगातार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा जिल्ला तथा उम्मेद्वारले पठाएको प्रतिवेदनलाई कुनै वास्ता नै नगरी केन्द्रीय सदस्यहरूले आफ्ना धारणा तथा सुझावमात्र पेस गरिहेका छन्।

यसअघिको केन्द्रीय समितिको बैठक र निर्वाचनको समीक्षा आगामी केन्द्रीय समितिको बैठकमा प्रस्तुत गर्नका लागि भन्दै पार्टीका गाउँ, नगर, क्षेत्र, जिल्ला कार्यसमितिले सम्बन्धित तहको बैठकमा भएको समीक्षा तथा निर्णयसहित प्रदेशसभा र प्रतिनिधिसभा प्रत्यक्षतर्फका पार्टीका उम्मेदवारलाई एक महिनाभित्र लिखित प्रतिवेदन पेस गर्न निर्देशन दिइएको थियो।

अहिले जारी रहेको कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति देउवाको चर्को आलोचना गर्दै केन्द्रीय सदस्यहरूले आफ्नो भनाइ लिखित तथा मौखिकरूपमा राखिरहेका छन्। निर्वाचनको समीक्षा गर्न बसेको बैठकमा जिल्लाबाट आएको प्रतिवेदन अध्ययन गरेर छलफल भएको छ कि छैन भन्नेबारे मुख्य सचिव कृष्णप्रसाद पौडेल भन्नुहुन्छु– ‘जिल्लाबाट आएको प्रतिवेदनबारे कुनै छलफल भएको छैन।’ मुख्य सचिव पौडेलका अनुसार एक महिनाभित्र लिखित प्रतिवेदन पेस गर्ने अघिल्लो बैठकको निर्देशनबमोजिम जिल्लाबाट ४० वटा जति प्रतिवेदन केन्द्रीय कार्यालयमा आइपुगेका छन्।

निर्वाचनपछि पनि कांग्रेस केन्द्रीय समिति बैठक पटक–पटक बसेको भए पनि जिल्लाबाट समीक्षासहितको प्रतिवेदन आएपछि मात्र निर्वाचनको विस्तृत समीक्षा गर्न केन्द्रीय समिति बैठक बस्ने बताउँदै आइएको थियो। जारी कांग्रेस केन्द्रीय समिति बैठकमा अधिकांश सदस्यले सभापति शेरवहादुर देउवाको असक्षमताका कारण निर्वाचनमा हारिएको मात्र हैन इतिहासमै कांग्रेस सबैभन्दा कमजोर भएको औंल्याइरहेका छन्। तर, केन्द्रीय सदस्यहरूले जिल्लाको प्रतिवेदन अध्ययन गर्दा निर्वाचन हार्नुको कारण यो देखियो भनेर भनेका छैनन्।

कांग्रेस बैठकमा निर्वाचनमा पराजित हुनुमा विधानअनुसार दुई महिनाभित्र पदाधिकारीसहित पार्टीको विभिन्न विभाग गठन गरिसक्नुपर्ने भए पनि सभापतिले दुई वर्षसम्म यो काम गर्न नसक्नु भएको, पार्टीको प्रभावशाली भ्रातृ संगठन तथा शुभेच्छुक संघसंस्थालाई परिचालन गर्न नसकेको, केन्द्रदेखि गाउँ तहसम्म गुट उपगुटमा विभाजित गरिएकाजस्ता कारणमात्र हैन सरकारको नेतृत्वले गर्दा पनि जनपक्षीय कार्य गर्न नसकेको भन्दै सभापतिको आलोचना भइरहेको छ।

गत निर्वाचनमा कांग्रेससँग न ऐजेन्डा थियो, न रणनीति थियो, न उद्देश्य थियो, न उत्साह नै थियो। यस पटक निर्वाचनमा जाँदा कांग्रेसले यी कुनै पनि कुरा लिएर जनतासामु जान सकेको थिएन भनेर स्वयं कांग्रेस नेताहरूले बताइरहेको बेला केही केन्द्रीय सदस्यले भने आरोप प्रत्यारोप गर्नुभन्दा पनि पदीय हैसियतअनुसार हारको जिम्मेवारी सबैले लिनुपर्ने धारणा पनि राखिरहेका छन्।

कांग्रेस बैठकमा जिल्लाबाट आएको प्रतिवेदन नखोलिए पनि राज्यको नयाँ संरचनाअनुसार पार्टीको विधानमा संशोधनका साथै नयाँ रक्त सञ्चार हुने गरी पार्टीको आगामी रणनीति तय गर्न तत्काल महासमिति बैठक बोलाउने निर्णय हुने बताइएको छ। महासमिति बैठकले नीतिगत र वैधानिक दिशानिर्देश गर्ने जनाएको छ।