भक्तपुरको मुद्दा फिर्ता भयो


नेपाल समाचारपत्र
काठमाडौं
अखिल नेपाल फुटबल संघ (एन्फा) को रोकिएको चुनाव गराउनका लागि भक्तपुरका ३ क्लबले मुद्दा फिर्ता लिएका छन्। भक्तपुर युनाइटेड क्लब, भक्तपुर फुटबल संघ र सिरुटार खेलकुद केन्द्र क्लबले मंगलबार संयुक्त रूपमा पत्रकार सम्मेलन गरी भक्तपुर जिल्ला अदालतमा हालेको मुद्दा फिर्ता लिएको जानकारी गराए। भक्तपुर जिल्ला फुटबल संघले यी असन्तुष्ट तीन क्लबलाई सहभागी नगराएर त्यहँँ चुनाव सम्पन्न गराएको थियो। माघ ४ गते सम्पन्न संघको चुनावअघि नै दुबै टोलीले त्यहाँको जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए।

उनीहरूले संघविरुद्ध राखेको मुद्दाको तथ्यलाई बंग्याएर पेश गरेको समेत संघमाथि आरोप लगाएका छन्। यी क्लबले संघविरुद्ध लडिरहने तर नेपाली फुटबल र भविष्यलाई ध्यानमा राखेर मुद्दा फिर्ता लिएको बताए। भक्तपुर फुटबल संघका अध्यक्ष राम प्रजापतिले बताए– ‘नेपाली फुटबल तथा खेलाडीको भविष्यमा हाम्रो कारण बाधा नहोस्। फेरि अन्तर्राष्ट्रिय फुटबलमा पनि नेपाली फुटबको छवि नराम्रो हुने भएकोले आजैको मितिबाट हामीले भक्तपुर अदालतमा चलेको निषेधाज्ञा मुद्दा फिर्ता लिएका छौं। यसले एन्फाको चुनाव हुन पनि सहयोग मिल्ने आशा राखेका छौं।

संघले नियम र नीतिगत रूपमा नचलेर यी दुई क्लबलाई पन्छाएर चुनाव गराउन लाग्दा अधिकारका लागि अदालतको शरणमा जानुपरेको उनीहरूको भनाइ रहेको छ। तर यसको बाबजुद चुनाव भएको थियो। एन्फाको चुनाव चैत १४ गते हुन मिति तय भइसकेको स्थितिमा भक्तपुर जिल्ला फुटबल संघ र मकवानपुर जिल्ला फुटबल संघले एक साताअघि नै पाटन उच्च अदालतमा मुद्दा दर्ता गरेका थिए। पाटन अदालतले चुनाव रोक्न आदेश दिएपछि एन्फाको चुनाव स्थगित भएको हो।

मकवानपुरमा फेरि चुनाव हुने
भक्तपुरको मुद्दा फिर्ता भएसँगै हिजै मकवानपुर जिल्ला फुटबल संघको चुनाव यही चैत २४ गते गराउन एन्फाले निर्देशन दिएको छ। गत माघमा भएको संघको चुनावलाई एन्फाले मान्यता नदिएपछि विवाद बढेको थियो। सो चुनावमा टीका लामा अध्यक्षमा निर्वाचित भएका थिए। एन्फाका प्रतिनिधि नराखी चुनाव सम्पन्न गराएकाले सो चुनाव एन्फाले अमान्य घोषित गरेको थियो।