विश्वकप वहिष्कार गर्ने योजनामा


लन्डन, (एजेन्सी)
ब्रिटेनलाई एक्यबद्धता देखाउन ६ राष्ट्रले रुसमा हुने विश्वकप वहिष्कार गर्ने योजना बनाइरहेको द सनले जनाएको छ।

सेलिसबरीमा रुसी जासुस र उनकी छोरीमाथि विषाक्त रसायन आक्रमण गरेपछि ब्रिटेन र रुसबीच तनाव चर्केको छ। ब्रिटेनले २० रुसी कूटनीतिज्ञलाई देश छाड्न लगाएको थियो। यस काण्डपछि ब्रिटेनका प्रधानमन्त्री तेरेजा मेले शाही परिवारका कुनै पनि सदस्य तथा मन्त्रीहरू रुसको विश्वकपमा सहभागि नहुने घोषणा गरिसकेको छ। ब्रिटेनलाई सघाउने यी ६ राष्ट्रहरू जापान, पोल्यान्ड, डेनमार्क, स्विडेन, अस्ट्रेलिया र आइसल्यान्ड रहेका छन्। पोलिस राष्ट्रपति एन्डरजेज डुडा मेलाई सहयोग गर्ने पहिलो विश्व नेता थिए। उनी मस्कोमा जुन १४ मा हुने उदघाटन समारोहमा उपस्थित हुन अस्विकार गरिसकेका छन्।

तर विश्व फुटबलको सर्वोच्च निकाय फिफाका पूर्व अध्यक्ष सेप ब्लाटरले विश्वकप वहिष्कार गर्ने कदम वाहियात र गलत भएको प्रतिक्रिया दिए। द सनको अनुसार ब्लाटर रिसाउँदै भनेका थिए– ‘फुटबलका विश्वमा २ अर्ब फ्लोअर्स छन्। फिफा विश्वकप २०१८ रुसमा हुने भनेको विश्वमा सबैभन्दा महत्त्वपूर्ण खेल प्रतियोगिता हो। त्यसैले वहिष्कार होइन, शान्तिका लागि खेल नै खेलेर शान्ति गरौं।’