किम जोङ उन ट्रेनबाट बेइजिङमा

0
Shares

बेइजिङ, (एजेन्सी)
हालै चीनको आकस्मिक एकदिने भ्रमणमा बेइजिङ पुग्ने एकजना वरिष्ठ उत्तर कोरियाली अधिकारी सर्वोच्च नेता किम जोङ उन नै भएको व्यापक अनुमान गरिएको छ । सबैभन्दा पहिला जापानी सञ्चार माध्यमले उत्तर कोरियाको एउटा कूटनीतिक ट्रेनबाट अत्यन्तै कडा सुरक्षा प्रबन्धबीच एकजना उच्च पदस्थ व्यक्ति बेइजिङ पुगेको खबर सार्वजनिक गरेको थियो ।

यसैबीच दक्षिण कोरियाले आफूले ती अधिकारीको परिचय थाहा नपाएको र यस खबरबारे पुष्टि गर्ने प्रयास भइरहेको जनाएको छ । यदि खबर सत्य हो भने सन् २०११ मा सत्तामा पुगेयता किमको यो पहिलो विदेश भ्रमण हुनेछ । यस सम्बन्धमा उत्तर कोरियाले कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन ।

यसैबीच चिनियाँ विदेश मन्त्रालयले यसबारे आफूसँग अहिलेसम्म कुनै जानकारी नरहेको तर समय आएपछि सत्यतथ्य बाहिर ल्याइने जनाएको छ । किमको यस सम्भावित बेइजिङ भ्रमणलाई महत्त्वपूर्ण घटनाका रुपमा लिइएको छ । गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किमसँगको भेटवार्ताका लागि राखिएको अप्रत्यासित प्रस्ताव स्वीकार गरेका थिए ।

यस जटिल कूटनीतिक आवश्यकता पूरा गर्नका लागि कोरियाली अधिकारीहरुले पर्दा पछाडि काम गरिरहेको हुनुपर्ने विश्वास गरिएको छ । अन्तर्राष्ट्रिय विश्लेषकहरुले किम र ट्रम्पको भेटवार्ताअघि उत्तर कोरियाली र चिनियाँ नेताहरुबीच बैठक बस्ने सम्भावना रहेको बताएका छन् ।
चीन उत्तर कोरियाको प्रमुख आर्थिक साझेदार हो । जापानी सञ्चार मँध्यमले सोमबार साँझ उक्त ट्रेन बेइजिङ आइपुगेको जनाएको छ ।

बेइजिङबासीले पनि ट्रेन स्टेसनमा अस्वाभाविक रुपमा कडा सुरक्षा प्रबन्ध देखेको र पर्यटकहरुलाई तियानमेन चोकबाट बाहिर पठाइएको बताएका छन् । प्रायशः तियानमेन चोकस्थित ग्रेट हल अफ पिपुलमा उच्चस्तरीय भेटवार्ता हुने गर्दछ ।