किमसँगको वार्तालाई लिएर ह्वाइट हाउस उत्साहित

0
Shares

वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुन गइरहेको ठोस बैठकलाई लिएर वासिङ्टन उत्साहित रहेको ह्वाइट हाउसले जनाएको छ । यसै महिनाको शुरुवातमा दक्षिण कोरियाली राष्ट्रिय सुरक्षा सल्लाहकारको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले ट्रम्पलाई किमका तर्फबाट भेट्ने निमन्त्रणा दिएको थियो ।

ट्रम्पले निमन्त्रण स्वीकार गरेकोमा पूरै विश्व आश्चर्यचकित बनेको थियो । उत्तर कोरियाली नेताले परमाणु निशस्त्रीकरणलाई लिएर आफ्ना प्रतिबद्धता पनि व्यक्त गरेका थिए । किमले बैठक नभएसम्म कुनै प्रकारका क्षेप्यास्त्र परीक्षण नगर्ने प्रतिबद्धता जनाएको ट्रम्पले बताएका थिए । ह्वाइट हाउसका उपप्रेस सचिव राज शाहले भने– ‘हामी केही महिनामा ठोस वार्ता हुने अपेक्षा गरिरहेका छौं ।’

किम जोङ उन चीन भ्रमणमा रहेको समाचारका विषयमा राखिएको प्रश्नको जवाफमा शाहले यसको कुनै पुष्टि नभएको बताए । उनले भने– ‘त्यो सही हो भन्ने कुरा हामीलाई थाहा छैन । हामी त्यस्ता समाचारलाई पुष्टि गर्न सक्दैनौं ।’