पाठ्यपुस्तक पुर्याउन शुरू

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले विद्यालयमा पाठ्यपुस्तक पुर्याउन शुरू गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले सरकारी विद्यालयमा भर्ना हुँदा नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिएपछि नयाँ शैक्षिक सत्र २०७५ शुरू हुन १५ दिन बाँकी रहँदा केन्द्रले सो कार्य शुरु गरेको हो।

केन्द्रले पाठ्यपुस्तक अभाव हुन नदिने दाबी गर्दै करिब १ हजार १ सय बिक्रेतामार्फत बिक्री शुरू गरेको जनाएको छ। जनक शिक्षाका प्रबन्ध सञ्चालक महेश तिमल्सिनाले अभाव हुन नदिन पर्याप्त पाठ्यपुस्तक छपाइसकिएको जानकारी दिनुभयो।

केन्द्रका अनुसार अहिलेसम्म १ करोड ६१ लाख थान पुस्तक छपाइसकिएको छ। कक्षा ६ देखि १० सम्म १ करोड ९२ लाख पाठ्यपुस्तक छपाइ गर्नुपर्ने छ। केन्द्रले ठेक्कामार्फत थप कर्मचारी राखेर छपाइको काम गरिरहेको जनाएको छ।

केन्द्रका प्रवक्ता सुजन नेपालले शिक्षा विभागले दिएको तथ्याङ्कको आधारमा पाठ्यपुस्तक छपाइ गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘चैतको २५ गतेभित्र सबै क्षेत्रीय कार्यालयहरूमा पाठ्यपुस्तक पुर्याइसक्नेछौं। शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले पाठ्यपुस्तकको अभाव हुन नदिन सबै निकायलाई निर्देशन दिइसकेको बताउनुभयो।

विभागले जिल्ला शिक्षा कार्यालयमार्फत सबै स्थानीय तहका विद्यालयमा रकम निकासा गरिसकेको छ। सरकारले नयाँ भर्नासंगै पाठ्यपुस्तक दिन निर्देशन दिएपछि सबै सरोकारवालाहरूले पाठ्यपुस्तक ढ्वानी शुरु गरेका छन्।

केन्द्रले विराटनगर, धनगढी, पोखरा, जनकपुर, भरतपुर र बुटवल कार्यालयबाट पाठ्यपुस्तक बिक्री शुरू गरेको छ। तर केन्द्रले ७ सय ५३ वटै स्थानीय निकायमा सिधै पाठ्यपुस्तक पुर्याउने व्यवस्था भए कुनै पनि विद्यार्थीको हातमा पुस्तक अभाव नहुने दाबी गरेको छ।

केन्द्रका प्रबन्ध सञ्चालक तिमल्सिनाले पाठ्यपुस्तक छपाइसकिएको भए पनि विद्यालयहरूले नलैजाने चिन्ता बढेको बताउनुभयो। ‘९० प्रतिशत पाठ्यपुस्तक छपाइगरिसकेका छौं, बाँकी किताब केही दिनमै सक्ने योजना छ’ –उहाँले भन्नुभयो।

केन्द्रले हाल दैनिक १ लाख २५ हजार थान पाठ्यपुस्तक उत्पादन गर्ने गरेको छ। केन्द्रले ३ वटा नयाँ वेवसहित ७ वटा मेसिनबाट पाठ्यपुस्तक छपाइ गरिरहेको छ। गत वर्ष १ करोड ५६ लाख थान पाठ्यपुस्तक बिक्री गरिएको थियो। तीमध्ये हालसम्म २१ लाख ६७ हजार थान पाठ्यपुस्तक बिक्री भइसकेको जनाइएको छ। तथ्याङ्कअनुसार कक्षा १ देखि १० सम्म ५५ लाख ३० हजार विद्यार्थी छन्। तीमध्ये कक्षा १–५मा ३३ लाख ५ हजार र ६–१० मा २२ लाख २४ हजार विद्यार्थी अध्ययनरत छन्।

उता कक्षा १ देखि ५ सम्मको रंगिन पाठ्यपुस्तक छपाइ गर्ने जिम्मा पाएका निजी प्रकाशक र बिक्रेताले जनक शिक्षाले आफ्नो अधिकार खोसेको आरोप लगाएका छन्। उनीहरूले कक्षा १–५ को समेत पाठ्यपुस्तक छपाइ र बिक्री गरेका कारण पुस्तक छपाउने कि नछपाउने भन्ने दोधारमा परेको बताएका छन्।

निजी प्रकाशक तथा बिक्रेताका प्रतिनिधि दीपक भण्डारीले कक्षा १ देखि ५ सम्म १ करोड ६५ लाख थान पाठ्यपुस्तक छाप्ने जिम्मा पाएको निजी कम्पनीले पाठ्यपुस्तक बिक्री नहुने डरले १ करोड मात्र छापेको बताउनुभयो।

प्रबन्ध सञ्चालक तिमल्सिनाले निजीलाई ओभर टेक गरेर बढी पुस्तक नछपाएको दाबी गर्दै भन्नुभयो– ‘विभागको निर्देशनअनुसार १–५ कक्षाका केही मात्र पुस्तक छपाएका हौं।’