शत्रु गतेलाई ४ दिनमा पौने ४ करोड

0
Shares

एमाले नेताहरू पनि पुगे हल
मह जोडी र यो जोडीसँग जोडिएका हास्य कलाकारका साथमा छक्का पञ्जाका हास्य कलाकार मिसिएर निर्माण तथा अभिनय गरिएको फिल्म शत्रु गतेले रिलिजको चौथो दिन अर्थात् सोमबारसम्म झण्डै ४ करोड रुपियाँ ग्रस कलेक्सन गरेको छ। गत शुक्रबार अल नेपाल रिलिजमा आएको फिल्मले सोमबारसम्म ३ करोड ८६ लाख ग्रस कलेक्सन गरेको छ भने मंगलबारको व्यापारिक रिपोर्ट आउन बाँकी छ। हेर्नेहरूले यसलाई मन पराएका छन् भने यसको बयानसमेत गरिरहेका छन्।

शत्रु गतेप्रति आम दर्शकसँगै राजनीतिज्ञहरूसमेत आकर्षित भएका छन्। यसै क्रममा नेकपा एमालेका पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायतका राजनीतिज्ञहरूले पनि शत्रु गते हेरेर यसको बयान गरेका छन्। पूर्वप्रधानमन्त्री खनालले शत्रु गतेको प्रशंसा सुनी सो फिल्म हेर्ने इच्छा व्यक्त गरेपछि उनको सचिवालयले हलमा विशेष शोको प्रबन्ध गर्यो। सोमबार राजधानीको बागबजारमा रहेको सिटी म्याक्स हलमा उनीसहित भीम रावल, देवेन्द्र पौडेल, ठाकुर गैरे, जीवनराम श्रेष्ठलगायतका नेताहरू पुगेका थिए। खनालसहितका नेताहरू शत्रु गते हेर्न गएको थाहा पाएपछि सो फिल्मका कलाकारको टोली पनि त्यहाँ पुगेको थियो।

‘फिल्म हाँसोले भरिएको छ, निकै रमाइलो छ। हर चिजलाई हाँसोमा टुंग्याइएको छ’, पूर्वप्रधानमन्त्री खनालले शत्रु गते हेरिसकेपछि भने– ‘फिल्मको चर्चा सुनेर आएको थिएँ, समय खेर फालेजस्तो लागेन। फिल्म मन परेकैले सम्पूर्ण समय बसेर फिल्म हेरें। फिल्मले मनोरञ्जनसँगै सन्देश पनि दिन्छ। मह जोडीको काम उत्कृष्ट छ।’ अधिकांश नेताहरू परिवारसहित थिए। ‘फिल्म रमाइलो रहेछ। हामीले यसका लागि छुट्याएको समय खेर गएन। मह जोडीको काम तारिफ योग्य छ।’ –अर्का नेता भीम रावलको भनाइ थियो।

सोमबार नै अन्य कलाकारले पनि विभिन्न हलमा पुगेर शत्रु गते हेरेका थिए। ‘फिल्ममा सबैको काम राम्रो छ। नयाँ पुस्तासँग पनि हरिवंश आचार्य फिट देखिएका छन्। निर्देशकले कलाकारको जम्बो टोलिलाई राम्रोसँग फिल्ममा देखाएको छ’, अभिनेता तथा निर्माता, निर्देशक भुवन केसीको भनाइ थियो– ‘समय र पैसाको सदुपयोग हुन्छ।’

फिल्म जात्रा निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन्। फिल्मलाई मह सञ्चारको ब्यानरमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन्। हरिवंश आचार्यको कथा रहेको फिल्ममा पटकथा निर्देशक भट्टराई र दीपकराज गिरी, संवाद निर्देशक भट्टराई र हरिवंश आचार्य, छायांकन दीर्घ गुरुङ र सम्पादन मित्र गुरुङको रहेको छ।