सौखिन ‘चोर’, कारबाट कारोवार



मोतीराम तिमल्सिना, काभ्रे । पत्याउँन मुस्किल छ । चोरहरु पनि सौखिन हुन थालिसकेका रहेछन् । चोरी गर्ने स्थानमा ग्लोब लगाएर जाने, चोर्न रामो, करौती जस्ता घरेलु हतियार लैजाने र कपडाको टालोले पुछपाक्ष गरेर निस्कने । चोर्नलाई कारमै जाने र कारमै फर्कने । यस्ता शौखिन चोर प्रहरीको फन्दामा परेका छन् ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक सुनिलजंग शाहले शौखिन चोरलाई कार सहित बनेपामा सार्वजनिक गरे । चैत्र १० गते विहान ११ बजे किराना पसल बन्द गरेर खाना खान निस्केका मण्डनदेउपुर नगरपालिका वडा नम्वर २ का सानुकान्छाको पसलमा कार लिएर चोरहरु पुगे । सानुकान्छाको पसल र घरको दुरी ७ मिनेटको मात्रै छ ।

हरेक दिन उनि त्यहि समयमा पसल बन्द गर्ने र फर्कने गर्दै आएका थिए । सोहि दिन पनि सानुकान्छा पसलबाट घरमा निस्केको अवसर पारी भत्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नम्वर ६ घर भएका २३ बर्षिय लच्छु कार्की र सोहि ठेगानाका गणेश तामाङ पुगे । सानुकान्छाको पसल भित्र रहेको नगद ३ लाख, भारतिय रुपैया, विदेशी मुद्रा चोरी भागे ।

गणेश तामाङले बनेपामा रहेको एक फाईनान्स कम्पनीका नाममा रहेको बा ७ च ४२ नम्वरको हुण्डा कार चलाउँदै आएका थिए । सोहि कार लिएर लच्छु कार्कीलाई समेत लिएर उनी मण्डनदेउपुर स्थित सानुकान्छाको पसलमा पुगेका थिए । लच्छुलाई बाटोमा सानुकान्छा आउलान भनेर हेर्न लगाएर गणेश पसल भित्र पसे । पसल फुटाए र नगद निकाले । कार लिएर उनी भागे ।

लच्छु फर्कँर्दा गणेश कार लिएर हिडिसकेका थिए । लच्छुले तत्कालै फोन गरे गणेशले केहि माथी आएर ३० हजार भाग लगाए । सानुकान्छाले प्रहरीलाई खवर गरे लगत्तै प्रहरी घटनास्थल पुग्यो । बाटोमा हिड्दै गरेको अवस्थामा लच्छुलाई पक्राउ ग¥यो । लच्छुले घटना विवरण बताएपछि पैसा थप लिने भन्ने बाहनामा गणेशलाई पनि प्रहरीको सहयोगमा पक्राउ गरिएको थियो ।

गणेशका बाबु र दाजु युरोपमा छन् । नगरकोटमा ३ तल्ले पक्कि घर छ । अपुग केहि छैन । पहिला पनि ५ लाख रुपैया चोरीको अभियोगमा उनी पक्राउ परेका थिए । लच्छुका दुई आमा छन् । सानै देखि उनी घरको ब्यवहारका कारण बाहिर छन् ।

बनेपामा नेकपा एमाले पार्टी कार्यालय अगाडी कुमार मैनालीको घरबाट केहि दिन अघि ८ तोला सुन र नगद २ लाख रुपैया चोरी भएको छ । नालामा पनि चोरीका घटना बढ्न थालेका छन् । प्रहरीले चोरी नियन्त्रण गर्न अभियान शुरु गरेको प्रहरी निरिक्षक सुनिलजंग शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्