रुसी सपिङ सेन्टर आगलागीमा ६४ को मृत्यु

0
Shares

मस्को, (एजेन्सी)
रुसी अनुसन्धानकर्ता र प्रत्यक्षदर्शीहरूले कम्तीमा ६४ जनाको ज्यान जाने गरी आइतबार साइबेरियास्थित एउटा सपिङ तथा इन्टरटेन्मेन्ट मलमा आगलागी हुँदा त्यहाँ खतराको अलार्म नरहेको र बाहिरिने ढोकाहरू अवरुद्ध रहेको बताएका छन्। कोइला खानीका लागि प्रख्यात केमेरोभो शहरमा भएको यस दुर्घटनामा मारिनेमध्ये अधिकांश बालबालिका रहेको प्रहरीले बताएको छ।
रसियाको अनुसन्धान समितिले विन्टर चेर्री मलमा यसरी बाहिरिने ढोकाहरू थुनिनुलाई गम्भीर गल्ती भएको बताएको छ। उक्त मलको माथिल्लो तल्लामा आगो शुरू हुँदा सो मलका पसलहरू, सिनेमा र बलिङ एलीमा थुप्रै भिड रहेको बताइएको छ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोमा मानिसहरू ज्यान जोगाउन झ्यालबाट हामफाल्दै गरेको देखिन्छ। अनुसन्धान समितिले आगलागीबारे सतर्क गराइँदा सो कम्प्लेक्सका आगलागी सुरक्षा प्राविधिज्ञले अलार्म स्टिम नै स्विच अफ गरेको जनाएको छ।

सो समितिले सोधपुछका लागि अग्नि सुरक्षा सम्बन्धी अन्य दुईजना अधिकारीलाई हिरासतमा लिइएको जानकारी दिएको छ। सो विन्टर चेरी कम्प्लेक्सका प्राविधिक निर्देशक र व्यापार व्यवस्थापकलाई पनि गिरफ्तार गरिएको छ। सो भवनमा अझै दस जना हराइरहेको प्रहरीले जनाएको छ।

स्थानीय शिक्षकहरूले त्यहाँ बिदा मनाउन गएका विद्यार्थीहरूबारे छानबिन गरिरहेका छन्। त्यहाँ कति जना विद्यार्थी थिए भन्ने यकिन हुन सकेको छैन। सो क्षेत्रका गभर्नर भ्लादिमिर चेर्नोभले ढोकाहरू किन थुनिएका थिए भन्ने नै महत्वपूर्ण प्रश्न भएको बताएका छन्।

प्रारम्भिक अनुसन्धानले एक बच्चाले लाइटर चलाउँदा फोम रबर जलेपछि सो दुर्घटना भएको जनाएको छ। तर सरकारी रोस्सिया २४ टेलिभिजनले भने विद्युतीय गडबडीको कारण सो आगलागी भएको हुनुपर्ने जनाएको छ।