थाइल्यान्डमा नेपालको सफलता

0
Shares

किशोरहरूलाई लक्षित गरी थाइल्यान्डमा सम्पन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस्टर ग्लोबल टिन–२०१८ मा नेपालको प्रतिनिधित्व गरेका राज खड्काले सफलता हासिल गरेका छन्। खड्का प्रतियोगिताको उत्कृष्ट पाँचमा पर्न सफल हुनुका साथै बेस्ट ट्यालेन्टको महत्वपूर्ण उपाधिसमेत जित्न सफल भएका छन्।

अघिल्लो साता थाइल्यान्डको बैंककमा सम्पन्न प्रतियोगिताको मुख्य उपाधिका लागि राज खड्काले विश्वका विभिन्न मुलुकका किशोरहरूसँग प्रतिस्पर्धा गरेका थिए।

५ फिट १० इन्च अग्ला १७ वर्षीय राज मिस्टर एन्ड मिस ग्ल्यामरस आइकन–२०१८ अन्तर्गत टिन विधाका विजेता हुन्। तेस्रो संस्करणको मिस्टर ग्लोबल टिन–२०१८ का लाथि राजको सहभागिताको संयोजन तथा व्यवस्थापन उक्त प्रतियोगिताका लागि नेपालको आधिकारिक संस्था ड्रिम सर्च एजेन्सीले गरेको हो।

प्रतियोगिताका लागि खड्कालाई मोडल तथा कोरियोग्राफर दिक्पाल कार्कीले प्रशिक्षण दिएका थिए। राजको फिटनेस इन्स्ट्रक्टरका रूपमा उनकै आमा निर्मला खड्का रहेकी थिइन्। निर्मला नेपालकै पहिलो अन्तर्राष्ट्रिय महिला बडी बिल्डर हुन्। प्रतियोगितामा ग्वाम आइसल्यान्डका १६ वर्षीय किन आर आर्टेराले मिस्टर ग्लोबल टिन–२०१८ को उपाधि जितेका थिए भने कोरियाका येवान ली फस्ट रनर्सअप तथा तथा श्रीलंकाका पासन विरासेकाराले सेकेन्ड रनर्सअपको उपाधि जित्न सफल भएका थिए।