भत्ता बुझ्छन् पोसाक लगाउँदैनन् कर्मचारी



प्रशान्त वली, काठमाडौं
धेरैजसो सरकारी कर्मचारीले पोसाक भत्ताबापतको रकम बुझेर पनि पोसाक नलगाउने गरेको पाइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्याङ्कअनुसार ८६ हजार निजामती कर्मचारी रहेका छन्। यी निजामती कर्मचारीको पोसाक भत्ताका लागि सरकारले ७ हजार ५ सय रुपियाँका दरले वार्षिक ६४ करोड ५० लाख रुपियाँ निकासा गर्दै आएको छ।

कर्मचारी र सेवाग्राही छुट्याउन सजिलोका लागि पोसाक अनिवार्य लगाउनुपर्ने परिपत्र जारी गरिए पनि मुख्य प्रशासनिक क्षेत्र सिंहदरबारका धेरै कर्मचारीले नै पोसाक लगाउन अटेरी गर्ने गरेको स्रोतले बताएको छ।

पोसाक नलगाउनेमा
सिंहदरबारभित्रैका सयौं

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराज न्यौपाने पनि कर्मचारीले पोसाक लगाउन मान्दै नमान्ने बताउनुहुन्छ। पोसाक लगाउन परिपत्र नगरिएको बताउँदै नेपाल समाचारपत्रसँग उहाँ भन्नुहुन्छ– ‘कर्मचारीहरूले नियमको पालना त अनिवार्य गर्नुपर्ने हो।’
त्यसो त राष्ट्रिय सतर्कता केन्द्रलाई पनि सिंहदरबारभित्रैका कर्मचारीले नियम नमानेको थाहा नभएको होइन। तर केन्द्रले आग्रह गर्दा पनि ती कर्मचारी पोसाक लगाउन मान्दैनन्।

केन्द्रका प्रवक्ता विष्णुराम लामिछाने भन्नुहुन्छ– ‘यस वर्ष देशैभरिका ५ सय २४ वटा कार्यालयमा कर्मचारीले गर्ने व्यवहारदेखि आचरणसम्मको अनुगमन गर्यौं। सिंहदरबारभित्रैका ५ सय २१ जना कर्मचारीले पोशाक लगाएको देखिएन।’
पोशाक नलगाउने कर्मचारीलाई कारबाहीका लागि सिफारिससमेत गरिएको बताउँदै उहाँ थप्नुहुन्छ– ‘कर्मचारीले यति मात्र होइन उनीहरूले कार्यालय समय पालना र चुस्त दुरुस्तरूपमा सेवाप्रवाह नगरेको पनि देखियो।’

यस्ता कमैचारीमाथि कस्तो कारबाही हुन्छ भनी सोद्धा प्रवक्ता लामिछाने भन्नुहुन्छ– ‘निजामती सेवा ऐन २०४९ बमोजिम कारबाही हुन्छ। सचेतीकरण, स्पष्टीकरण, गयलकट्टी गर्नका लागि सम्बन्धित निकायलाई परिपत्र गर्छौं।’ नेपाल निजामती कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला हप्तामा ५ दिन पोशाक लगाउर्नै पर्ने बताउनुहुन्छ। कर्मचारीले नियमको दुरुपयोग गर्न नहुने दाबी गर्दै उहाँ नेपाल समाचारपत्रसँग भन्नुहुन्छ– ‘शुक्रबारबाहेक अरू बार अनिवार्य लगाउनुपर्छ।’

स्मरणीय छ, पुरुष कर्मचारीका लागि सेतो सर्ट, गाढा नीलो पाइन्ट र महिला कर्मचारीका लागि नीलो साडी तोकिएको छ। महिला कर्मचारीले असहज भए सेतो सर्ट र गाढा नीलो पाइन्ट लगाउन सकिने सामान्य प्रशासन मन्त्रालयले बताएको छ। निजामती कर्मचारीको आचरणसम्बन्धी नियमावली–२०६५ मा निजामती कर्मचारीले अनिवार्यरूपमा पोशाक लगाउनुपर्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्