खड्काको स्वास्थ्य अवस्था नाजुक



कांग्रेसका प्रभावशाली नेता एवम् केन्द्रीय सदस्य खुमबहादुर खड्काको स्वास्थ्य अवस्था अत्यन्त नाजुक बन्दै गएको छ। फागुनको पहिलो साता भारतको एपोलो अस्पतालमा उपचार गराउन जानुभएको खड्काको स्वास्थ्यमा एकपछि अर्को समस्या देखिएपछि पछिल्लो समय भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

जारी कांग्रेस केन्द्रीय समिति बैठकले सोमबार खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आज मंगलबार नै दुई जना केन्द्रीय सदस्य शंकर भण्डारी र रमेश लेखकलाई भारत पठाएको छ। केही वर्षअघि मृगौला प्रत्यारोपण गराउनुभएका खड्का पछिल्लो समय छाती, श्वासप्रश्वास र नसाको रोगबाट पनि पीडित हुनुहुन्थ्यो।

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले खड्काको स्वास्थ्य अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गर्दै दुई जना केन्द्रीय सदस्यलाई स्वास्थ्य अवस्थाबारे जानकारी लिन भारत पठाउने निर्णय गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ।

‘खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिन मंगलबार बिहान ९ बजे हामी दिल्ली प्रस्थान गर्दै छौं’, केन्द्रीय सदस्य शंकर भण्डारीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘उहाँको अवस्था अत्यन्त नाजुक रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।’

पछिल्लो समय खड्कालाई ब्रेन ट्युमर भएको पनि अशंका गरी उपचार भइरहेको नेता भण्डारीले जानकारी दिनुभएको छ।

सोमबारको बैठकमा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्वास्थ्य अवस्था अत्यन्त कमजोर भएर दिल्लीस्थित एपोलो हस्पिटलमा उपचार गराइरहनुभएका केन्द्रीय सदस्य खुमबहादुर खड्काको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारका निम्ति उहाँलाई आर्थिक समस्या परेकाले सहयोगका निम्ति पार्टीको ध्यानाकर्षण गराउनुभएको थियो।

साथै उहाँले पार्टी र लोकतन्त्रका निम्ति आफ्नो सम्पूर्ण जीवन बिताउनुभएका खड्काको बारेमा पार्टी बेखबर हुनु दुर्भाग्य भएको बताउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्