ह्यारी र मेगानको विवाहमा प्रियंकालाई निम्ता

0
Shares

एजेन्सी । बेलायती राजकुमार ह्यारी र अभिनेत्री मेगान मर्कालको आगामी मे मा हने विवाह समारोहमा लागि करिब ६०० निमन्त्रणा पत्र छपाएर वितरण गरिसकीएको छ ।

राजकुमार ह्यारीको विवाह नजिक आउँदै गर्दा उक्त समारोहमा उपस्थिति हुन सक्ने अतिथिको सूचीबारे निकै चर्चा भइरहेको छ । यसका साथै यसवर्ष सबैभन्दा धेरै प्रतिक्षा गरिएको शाही विवाहमा उपस्थित हुन सक्ने भीआइपी अतिथिको सूची सार्वजनिक भएको छ ।

मेगा हलिउडसँग आबद्ध भएकाले उनका साथी र परिवार बाहेक अन्य विश्वका चर्चित सेलिब्रेटीहरु पनि विवाहमा उपस्थित रहने बताइएको छ । यस सूचीमा बेलायतका विश्व प्रख्यात फुटबल खेलाडी डेभिड बेकम र उनकी पत्नी भिक्टोरियाको नाम उल्लेख गरिएको छ । यसअघि राजकुमार विलियमको विवाहमा पनि उनीहरु उपस्थित रहेका थिए ।

त्यसैगरी अन्य अतिथिहरुको सूचीमा मेगानले अभिनय गरेको चर्चित टेलिभिजन सिरिज ‘सुट्स’ का अभिनेता लगायत अन्य कलाकारहरुको नाम पनि रहेको बताइएको छ ।

अमेरिकन सिरिज सुट्समा मेगानको भूमिकाले अधिक चर्चा पाएको थियो । यसैमा मेगानका साथ अभिनय गरेका प्याट्रिक एडम्सलाई पत्नी ट्रोरियनसहित निमन्त्रणा गरिएको बताइएको छ ।

हलिउडबाट मात्र नभएर बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडा पनि मेगानकी असाध्यै नजिकी साथी हुन् । युनिसेफकी अम्बेसेडर प्रियंकाले यसअघि पनि हयारी र मेगानको स्वयम्बर तय भएलगत्तै इन्स्टाग्राममार्फत मेगानलाई शुभकामना तथा बधाइ दिएकी थिइन् ।

दुई वर्षअघि भेटेका मेगान र प्रियंका दुवैले समान धारणा व्यक्त गर्ने गरेका छन् । त्यसै कारणले छोटो समयमै उनीहरु अत्यन्तै नजिकका साथीमा परिणत भएका छन् । त्यसैले प्रियंका मेगानको विवाहमा उपस्थित हुनेबारे कुनै शंका नरहेको बताइएको छ ।

त्यसैगरी क्यानडाका राष्ट्रपति जस्टिन ट्रयुडो पनि अपेक्षित अतिथिको सूचीमा पर्ने बताइएको छ । राजनीतिज्ञहरुमा भने हयारीका नजिकी मित्र भएपनि पूर्वराष्ट्रपति बाराक ओबामा उपस्थित नहुने बताइएको छ । ट्रम्पका कारणले विवाद बढ्न सक्ने हुँदा यसबारे राजपरिवारले धेरै सावधानी अपनाइरहेको बताइएको छ ।