![](https://newsofnepal.com/wp-content/uploads/2018/03/Sonam-Kapoor-.jpg)
बलिउड नायिका सोनम कपुर र बिजनेसम्यान आनन्द आहुजाको आगामी ११ र १२ मेमा विवाह हुने भएको छ। भारतीय सञ्चारमाध्यमले जनाएअनुसार यो विवाह २ दिनसम्म स्विजरल्यान्डस्थित जेनेवामा हुनेछ।
एक अनलाइनले सूत्रलाई उद्धृत गर्दै जनाएअनुसार सोनमको डेस्टिनेसन वेडिङ गर्ने इच्छा थियो। यस कारण उनी बहिनी रिया कपुरका साथ विवाहका लागि केही स्थान हेर्न गएकी थिइन् र अन्त्यमा उनले विवाह गर्ने स्थानका लागि स्विजरल्यान्ड रोजेकी हुन्। अब उनको विवाहको सबै तयारी पूरा भएको र फ्लाइट बुकिङ गर्न बाँकी भएको तथा उनको अभिनेता पिता अनिल कपुर पाहुनालाई आमन्त्रित गर्न व्यस्त रहेको समाचारमा जनाइएको छ।
लामो समयदेखि बलिउड नायिका सोनम कपुर र बिजनेसम्यान आनन्द आहुजा प्रेममा थिए। तर, उनीहरूले आफ्नो प्रेम सम्बन्धका बारेमा अहिलेसम्म बाहिर खुलेर कुरा गरेका छैनन्। २ वर्षदेखि रोमान्स गरिरहेका उनीहरू पछिल्लोपटक जुनमा विवाह गर्दै छन् भन्ने समाचार आएको थियो। यहिबीच अभिनेतृ श्रीदेवीका कारण उनीहरूको विवाह रोकिएको थियो। तर, अब भने उनीहरूको विवाहको मिति पक्का भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।