देशभरका विद्यालयमा एउटै कलर कोड



ईश्वरराज ढकाल, काठमाडौं
देशभर निर्माण हुने सबै विद्यालयको भौतिक पूर्वाधार एकै रङको हुने भएको छ। शिक्षा विभागले सबै जिल्ला शिक्षा कार्यालयमा पत्राचार गरी सम्पूर्ण संरचना एकै रङको बनाउन पत्राचार गरेको हो।

विभागका प्रवक्ता केशवप्रसाद दाहालका अनुसार शैक्षिक भवनमध्ये विशेष गरी विद्यालयमा निर्माण हुने भौतिक पूर्वाधारको रङ एकै प्रकारको बनाउन पत्राचार गरिएको हो। ‘शिक्षाका निकायमा एकरूपता ल्याउन अनिवार्यरूपमा कलर कोड प्रयोग गर्न निर्देशन दिइएको छ।’ –उहाँले भन्नुभयो। सबै विद्यालय एकै प्रकारको हुनुपर्ने भएकाले अनिवार्यरूपमा कलर कोर्ड प्रयोग गर्न पत्राचार गरिएको विभागले जनाएको छ।

शहरी विकास तथा भवन निर्माण विभागद्वारा जारी सार्वजनिक भवनमा प्रयोग हुने रङसम्बन्धी निर्देशिका–२०६९ अनुसार एकै रङ प्रयोग गर्न पत्राचार गरिएको हो। यसअनुसार भवनको मुख्य प्लास्टरको भाग फिका पहेंलो, मुख्य भाग इँटा वा ढुंगाको गाह्रोमा पारदर्शी रसायन प्रयोग भएको, ठाडो र तेस्रो ब्यान्ड सेतो, छज्जा वा फेसिया खरानी र छाना तेरकोटा वा रातो हुनुपर्दछ। पहेंलो रंग उज्यालो र बुद्धिजीवी वर्गलाई मनपर्ने भएकाले विद्यालयको मुख्य भाग पहेंलो र घामपानीबाट जोगाउन मुख्य भागको इँटामा पारदर्शी रसायन प्रयोग हुनुपर्दछ।

विद्यालय एकै प्रकारको हुनुपर्ने भएकाले अनिवार्यरूपमा कलर कोर्ड प्रयोग गर्न
पत्राचार गरिएको छ।

यस्तै अरू भागसँग संयोजन गर्न झ्याल र चौकोस सेतो वा खैरो गाढा, घामपानीबाट प्रत्यक्ष सम्पर्क आउने भएकाले प्लिन्थ ब्यान्ड खरानी रङको र अन्य भागसँग संयोजन गर्न सबै झ्यालको ग्रिल गाढा खैरो हुनुपर्ने उल्लेख छ।

यसै गरी स्वच्छता र उज्यालोपनका लागि भवनको भित्री भागको करिडोर र भर्याङको भित्तामध्ये माथिल्लोमा सेतो र तल्लो भागमा खैरो, कक्षाकोठाको भित्ता क्रिम वा आइभोरी रङ प्रयोग गर्नुपर्ने हुन्छ।

उज्यालोपन बढाउन, चाँडै मैलो हुन नदिन र काममा एकाग्रता ल्याउन कक्षाकोठामा क्रिम वा आइभोरी र उज्यालोपन बढाउन, सफा र औपचारिकता देखाउन सभाकक्ष र सिलिङमा सेतो रङ प्रयोग गर्न निर्देशन दिइएको हो। यद्यपि शिक्षा विभागको मातहतमा रहेका केही जिल्ला शिक्षा कार्यालयको मुख्य भागमा फिका पहेलो रङ प्रयोग भइसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्