मुनालको स्मृतिमा प्रतिष्ठान


ख्यातिप्राप्त रेडियोकर्मी तथा गायक स्व. वासुदेव मुनालको स्मृतिमा वासुदेव मुनाल स्मृति प्रतिष्ठान स्थापना गरिएको छ।

३५ वर्षसम्म निरन्तर रेडियो नेपालमा बाल कार्यक्रम सञ्चालन गरी लोकप्रियतासँगै इतिहास रचेका मुनालको स्मृतिमा स्थापित प्रतिष्ठानले वार्षिक पूण्यतिथिको दिन पारेर बाल साहित्य, संस्कृति, खेलकुद वा बालहितसम्बन्धी कार्यमा योगदान पुर्याउने व्यक्ति वा संस्थालाई पुरस्कार तथा सम्मान प्रदान गर्नेछ।

प्रतिष्ठानका संस्थापक प्राडा उपेन्द्र कोइराला र मोहित मुनाल रहेका छन्। प्रतिष्ठानका लागि आवश्यक कागजी प्रक्रिया तथा कोष संकलन कार्य भइरहेकाले छिट्टै नै पुरस्कार राशिको घोषणा गरिने संस्थापक मोहित मुनालले जानकारी गराएका छन्।

मुनालको ६ महिनाअघि ६८ वर्षको उमेरमा निधन भएको थियो। उदयपुरमा जन्मिएका वासुदेवले सञ्चार क्षेत्र र संगीत क्षेत्रका लागि ठूलो योगदान पुर्याएका थिए। उनले गाएका र संगीत दिएका गीतहरूसमेत लोकप्रिय छन्।