ईयूले रुसबाट राजदूतलाई फिर्ता बोलाउने

0
Shares

ब्रसेल्स, (एजेन्सी)
मानव स्नायुप्रणालीमा खतरनाक असर पुर्याउने गरी भएको एउटा नर्भ एजेन्ट आक्रमणलाई लिएर बेलायत र रसियाबीच रहेको तनावपूर्ण विवादले अन्ततः युरोपेली संघ (ईयू)मा पनि प्रवेश पाएको छ।
ब्रसेल्समा युरोपेली संघका शीर्ष नेताहरूको बैठकपछि ईयूले रुसबाट आफ्ना राजदूत फिर्ता गर्ने कदम चालिएको छ। विवादमा बेलायतप्रति ऐक्यबद्धता जनाउनका लागि सो प्रक्रियालाई अघि बढाउन लागिएको ईयूका अधिकारीले पत्रकारहरूलाई जानकारी गराएका छन्।

ईयूले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ– ‘ब्रसेल्समा युरोपेली संघका शीर्ष नेताहरूको बैठकले रुसबाट आफ्ना राजदूत फिर्ता गर्ने कदम उठाएको छ। हाल जारी रहेको नर्भ एजेनट विवादमा बेलायतप्रति ऐक्यबद्धता जनाउन उक्त प्रक्रियालाई अघि बढाउने निर्णय भएको छ।’

ईयूको बैठकमा रुसी पूर्वगुप्तचर सर्गेइ स्क्रिपल र उनकी छोरी युलिया स्क्रिपलमाथि बेलायतमा भएको नर्भ एजेन्ट आक्रमणमा मस्कोको संलग्नताको सम्भावना अत्यधिक रहेको निष्कर्ष निकालिएकोे जनाइएको छ।

ती बाबुछोरीको अहिले पनि बेलायतको एक अस्पतालमा चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ। रुसले भने बेलायतको सो आरोप ठाडै अस्वीकार गर्दै आएको छ।
यसअघि बेलायतले २३ जना रुसी कूटनीतिज्ञलाई देशनिकाला गरेको थियो भने प्रतिक्रियास्वरूप रुसले पनि सोही संख्यामा बेलायती कूटनीतिज्ञलाई फिर्ता पठाउने निर्णय गरिसकेको छ।