पेरिस, (एजेन्सी)
फ्रान्सको एक अदालतले शनिबार आफ्ना नवजात शिशुहरूको हत्या गरेको अभियोगमा एक महिलालाई ८ वर्ष लामो कारावास सजाय सुनाएको छ। ३७ वर्षीया रोमाना क्यानेटेलाई ५ शिशुलाई पानी डुबाई हत्या गरेर फ्रिजरमा लुकाएको अभियोग लगाइएको थियो।
दक्षिण पश्चिमी फ्रान्सको बोर्डियक्सस्थित अदालतमा मुद्दाको सुनुवाइको क्रममा उनले रुँदै आफ्नो अपराधका लागि क्षमयाचना गरेकी थिइन्। उनले अदालतमा न्यायाधीशसमक्ष बोर्डियक्सदेखि करिब ४० किलो मिटर टाढाको लोच्याट्सस्थित आफ्नो घरको बाथटबमा बच्चाहरू जन्माएर पानीमै मर्नका लागि छोड्ने गरेको स्वीकार गरेकी थिइन्।
उनका अन्य दुई किशारी छोरीमध्ये एकले फ्रिजरमा राखिएको एउटा झोलाभित्र एउटा मृत शिशु फेला पारेकी थिइन्। एएफपी समाचार निकायका अनुसार क्यानेटेका पति हुवाँ कार्लोसले खबर गरेपछि घटनास्थलमा पुगेका प्रहरीले थप लाश फेला पारेको जनाएको छ।
सन् २०१५ को मार्चमा भएको यस अत्यन्तै क्रूर र अमानवीय घटनालाई लिएर उनललाई तीन वर्ष प्रहरी हिरासतमा थुनिइसकेको छ। फ्रान्सको सञ्चार माध्यमले सम्भवतः यसरी बच्चाहरू जन्माउँदै मार्ने सिलसिला विगत १० वर्षदेखि चल्दै आएको हुनुपर्ने अनुमान गरेको छ।
केही सजाय विगतमै भोगिसकेकीले उनले आठै वर्ष कैद भुक्तानी गर्नुनपर्ने अनुमान पनि गरिएको छ। तर कारगारमुक्त भएर पनि उनी ५ वर्षसम्म समाज कल्याण निकायको अनुगमनमा रहनुपर्ने सञ्चार माध्यमले जनाएको छ। अझै अचम्मको कुरो त, पेसाले कृषक उनका पति कार्लोसले उनी गर्भवती रहेको आफूले कहिल्यै चाल नपाएको बताएका छन्।
फ्रेन्च न्युज वेबसाइडले पोइन्टका अनुसार कार्लो निकै ईष्र्यालु र पत्नीलाई नियन्त्रणमा राख्ने खालको भएको न्यायाधीशले अन्य विशेषज्ञहरूलाई उद्धृत गर्दै बताएका थिए। कार्लोसको आचरणलाई मध्यनजर राखेर नै उनीमाथिको सजाय कम पारिएको पनि बताइएको छ। उनले रुँदै आफूले नचाहेरै गर्भधारण गर्नु परेको र ती शिशुलाई मानसिकरूपमा स्वीकार्न नसकेकाले अपराध हुन पुगेको बताएकी छिन्।
प्रतिक्रिया