कांग्रेस केन्द्रीय समिति बैठकमा हारको समीक्षा

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
हालै सम्पन्न निर्वाचनको विस्तृत छलफल गर्न शुक्रबारदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठक आज आइतबार स्थगित गरिएको छ। भोलि सोमबारदेखि पुनः शुरु हुने बैठकमा निर्वाचनमा कांग्रेसले लज्जास्पद हार बेहोर्नुपरेको कारणबारे केन्द्रीय सदस्यहरूले विस्तृत छलफल गरिरहेका छन्।

नेतृत्वको कार्य क्षमतामाथि प्रश्न उठाउँदै केन्द्रीय सदस्यहरूले पार्टी इतिहासमै सबैभन्दा कमजोर अवस्था पुगेको विश्लेषण पनि गरेका छन्। पहिलो दिन पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा केन्द्रीय सदस्य नारायण खड्काले धारणा राखेका थिए भने दोस्रो दिन शनिबार केन्द्रीय सदस्यहरू नरहरि आचार्य, नविन्द्रराज जोशी, दिलेन्द्र प्रसाद बडु, गुरुराज घिमिरे, कल्याण गुरुङ, वीरबहादुर बलायर र हरिप्रसाद नेपालले धारणा राखेका थिए।

बैठकमा धारणा राख्ने क्रममा नेता नरहरि आचार्यले कांग्रेस पुरानै ढर्रामा अल्मलिएको भन्दै आरोपप्रत्यारोप गरेर मात्र कांग्रेसमाथि आइपरेको चुनौती सामना गर्न नसकिने बताउनुभएको थियो। निर्वाचनको समयमा कांग्रेसले लोकतान्त्रिक गठबन्धन बनाए पनि चुनावमा कांग्रेस एक्लै भएको भन्दै कांग्रेसले वाम गठबन्धनको रणनीति चिर्न नसकेको पनि बताउनुभएको थियो। उहाँले पार्टीको विधान संशोधनलगायत आवश्यक निर्णय लिन तत्काल महासमिति बैठक बस्नुपर्ने धारणा पनि राख्नुभएको थियो।

बैठकमा धारणा राख्ने क्रममा केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले निर्वाचनमा कांग्रेसले आफ्नो एजेन्डा जनतासामु लैजान नसकेको बताउनुभएको थियो। जनता र कांग्रेस बीचको खाडल पुर्न नसकेको तथा नेतृत्व र कार्यकर्ताबीचको दुरी बढ्ेको कारणले पनि निर्वाचनमा हार बेहोर्नुपरेको उहाँको भनाइ थियो। भ्रातृ तथा शुभेच्छुक संघसंस्थालाई परिचालन गर्न नसकेको मात्र हैन मिडियाहरूमा समेत कांग्रेसको स्पष्ट विचार ल्याउन नसकेको उहाँको भनाइ थियो।

बैठकमा राज्यको पुनर्संरचनापश्चात सम्पन्न स्थानीय तह, प्रदेशसभा र प्रतिनिसभाको निर्वाचनको दौरानमा र आजसम्म पनि कामचलाउका रूपमा रहेका वडा समिति, गाउँपालिका समिति, नगर समिति क्षेत्रीय समिति र जिल्ला समितिहरूको नयाँ अधिवेशन अहिलेको प्रादेशिक ढाँचाअनुसार अवलम्बन गरिनुपर्ने केन्द्रीय सदस्यहरूबाट सुझाव आएको थियो।
नेपाली कांगे्रसले विशेषतः युवाहरूलाई आकर्षित गर्ने कार्यक्रमहरू ल्याउनु आवश्यक रहेको भन्दै रोजगारीका लागि अवसरको सृजना गर्न कांगे्रसले महत्वपूर्ण भूमिका निभाउनुपर्ने बताइएको थियो। बैठकमा युवाहरूले जीवनको स्वर्णिम युग विदेशीको व्यापार र व्यवसायको उन्नति गरेर तिनकै देश धनी बनाएर अन्त्यमा उत्पादनहीन जिन्दगी बिताउन नेपाल आउने परम्पराको अन्त्यका लागि कांग्रेसले जगबाटै सशक्त नीति बनाउने र कार्यान्वयन गर्नुपर्ने पनि बताइएको थियो।

बैठकमा कांग्रेसको सांगठनिक अवस्था आन्तरिक र वाह्य चुनौतीहरू, रणनीति र कार्यक्रमहरूका बारे संगठनको तल्लो तहसम्म बहस र छलफलका साथै सवै वर्ग र विद्वत् समुदायसँग आवश्यक बहस गरी बलियो कांग्रेस निर्माणका लागि रणनीति तयार पारिनुपर्छ भन्ने धारणा पनि आएको केन्द्रीय सदस्य जोशीले जानकारी दिनुभएको छ।

बैठकमा केन्द्रीय सदस्यहरूले नेपाली कांग्रेसभित्र गम्भीर छलफल गरेर संस्थागत निष्कर्ष निकाल्ने र त्यसको कार्यान्वयन गर्ने अभ्यास निकै कमजोर भएको पनि औंल्याएका थिए। निर्णय गर्ने परिपाटिलाई परिमार्जन गरी गम्भिर छलफलबाट निर्णय गर्ने र निर्णयको अक्षरस पालना गर्ने व्यवस्था आवश्यक भएको आंैल्याउँदै केन्द्रीय सदस्यहरूले पार्टी सभापतिले विधानको उल्लंघन गरेको आरोपसमेत लगाएका थिए।

विधानअनुसार समय सीमाभित्रै सभापतिले पार्टीको सांगठनिक संरचनालाई पूर्णता दिन नसक्नु पनि निर्वाचनमा लज्जासपद नतिजा आउनु एउटा कारण भएको बारेमा पनि केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए।