बाईसे राज्यका अवशेष लोप हुँदै



धनवीर दाहाल, रुकुम । रुकुम पश्चिममा रहेका बाईसे तथा चौविसे राज्यका अवशेषहरु लोप हुने अवस्थामा रहेका छन् । झण्डै दुईसय वर्ष अघि निर्माण गरिएका बाईसे तथा चौविसे राज्यका मन्दिर, देवल, तिरढुंगा, कुवा, दरबार लगायतका अवशेषहरु लोप हुने अवस्थामा पुगेका हुन् ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ३ लापुले गाउँमा रहेको ढुंगैढुंगाले बनाईएको जहारीकोटे मन्दिर संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ ।

जगतीश्वरे महाराजको एक अवतारका रुपमा परिचित जहारीकोटे मन्दिर जिर्ण बनेकाले स्थानीयवासी चिन्तित् बनेका छन् । जिर्ण ऐतिहासिक जहारीकोटे मन्दिर दुईसय वर्ष अघि नै निर्माण गरिएको स्थानीय दुर्गाप्रसाद जैसीले बताउनुभयो ।

जहारीकोटे मन्दिर दुईसय वर्ष अघि जाजरकोटका जगतीपुरे राजा शिवनारायणले कोटजहारीका राजा विक्रमदेवसँग मीत लगाउने क्रममा निर्माण गरिदिएका थिए । तर, ऐतिहासिक जहारीकोटे मन्दिर वर्षैपिच्छे जिर्ण बन्दै गईरहेकाले अब यसको संरक्षणमा स्थानीय सरकारले ध्यान दिनुपर्ने स्थानीयको मागले स्थानीय ज्ञानु गौतमको भनाई छ ।

नगरपालिका भित्र जिर्ण जहारीकोटे मन्दिर लगायत अन्य ऐतिहासिक महत्व बोकेका धार्मिक मठ मन्दिर जिर्ण अवस्थामा रहेका छन् । तरपनि अबको आर्थिक वर्ष देखी नै नगरभित्रका सबै वडाका ऐतिहासिक मठ मन्दिरको उचित संरक्षणका लागि बजेट विनियोजन गर्ने नगरपालिकाको तयारीको चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्माले जानकारी दिनुभयो ।

ऐतिहासिक जहारीकोटे मन्दिर बाईसे तथा चौविसे राज्यका पालामा निर्माण गरिएकाले यसको छुट्टै महत्व रहेको छ । उचित संरक्षणको पर्खाइमा रहेको जहारीकोट मन्दिर लगायत जिल्लाका अन्य पुरातात्विक सम्पदाको संरक्षणतर्फ पनि सबैको ध्यान जान आबश्यक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्