नेपाल चलचित्र कलाकार संघ (फान) ले आगामी चैतमा गर्न लागेको फिल्म अवार्डको मनोनयन सूची सार्वजनिक गरेको छ। संघले २०७३ सालमा रिलिज भएका फिल्मलाई सामेल गरी आगामी चैत १६ गते आयोजना गर्न लागेको फान अवार्ड २०७३ को बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरी मनोनयन सूची सार्वजनिक गर्दै मनोनयनमा परेका कलाकार र प्राविधिकलाई प्रमाणपत्र प्रदान गरेको हो।


निर्देशकतर्फ के म तिम्रो हैन रबाट आकाश अधिकारी, गाजलुबाट हेमराज बीसी, पुरानो डुंगाबाट रामबाबु गुरुङ, लुट–२ बाट निश्चल बस्नेत, वीरविक्रमबाट मिलन चाम्स मनोनयनमा छन् भने नवनिर्देशकतर्फ छक्का पञ्जाबाट दीपाश्री निरौला, जात्राबाट प्रदीप भट्टराई, झुम्कीबाट अपिल विष्ट, डाइङ क्यान्डलबाट नरेशकुमार केसी र शब्दबाट सन्तोष शिवाकोटी मनोनयमा परेका छन्। कि एड्भरटाइजिङ एजेन्सीको सहकार्यमा हुने दोस्रो संस्करणको अवार्ड समारोहमा यसबाहेक सर्वोत्कृट चरित्र अभिनेता, चरित्र अभिनेतृ, सहअभिनेता, सहअभिनेतृ, खलपात्र, हास्य कलाकार, कथा, पटकथा, संवाद, गीत, संगीत, गायक, गायिका, नृत्य निर्देशक, द्वन्द्व निर्देशक, छायाँकार, सम्पादक गरी २४ विधामा अवार्ड प्रदान गरिनेछ। विभिन्न २४ विधामा प्रदान गरिने फान अवार्ड भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुनेछ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष रामकेशर बोगटीले फान अवार्ड नेपाली फिल्म क्षेत्रको मान–सम्मान, उत्थान र प्रोत्साहनका लागि थालिएको बताए। त्यसै गरी प्रमुख अतिथि अभिनेता नीर शाहले अघिल्लो वर्षबाट शुरु भएको फान अवार्डले फिल्म क्षेत्रको उचाइ बढाउने चर्चा गरे।
प्रतिक्रिया