काठमाडौंको बजार अन्यत्रभन्दा सस्तो

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
माघ महिनामा वार्षिक बिन्दूगत उपभोक्ता मुद्रास्फीति ५ प्रतिशत कायम भएको छ। समीक्षा अवधिमा खाद्य वस्तुको मूल्यमा भएको वृद्धिका कारण समग्र मुद्रास्फीति गत वर्षको तुलनामा बढी रहेको हो। गत वर्षको माघमा वार्षिक बिन्दूगत उपभोक्ता मुद्रास्फीति ३ दशलव ३ प्रतिशत रहेको थियो।

खाद्य मुद्रास्फीति समीक्षा अवधिमा खाद्य मुद्रास्फीति ४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति शून्य दशमलव २ प्रतिशतले ऋणात्मक रहेको थियो। गत वर्षको तुलनामा यस समूहअन्तर्गतको तरकारी, दुग्धजन्य पदार्थ तथा अण्डा, फलफूल, मासु तथा माछा, घ्यू तथा तेललगायतका वस्तुको मूल्यमा वृद्धि भएका कारण समग्र खाद्य मुद्रास्फीति बढ्न गएको हो।

क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति तराईमा ५ दशमलव ६ प्रतिशत, हिमालमा ५ दशमलव ४ प्रतिशत, पहाडमा ५ दशमलव १ प्रतिशत र काठमाडौं उपत्यकामा ४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर तराईमा ३ प्रतिशत, हिमालमा ३ दशमलव २ प्रतिशत, पहाडमा ५ दशमलव ९ प्रतिशत र काठमाडौं उपत्यकामा १ दशमलव १ प्रतिशत रहेको थियो।

त्यस्तै माघ महिनामा नेपालको वार्षिक बिन्दूगत उपभोक्ता मुद्रास्फीति ५ प्रतिशत र भारतको ४ दशमलव ४ प्रतिशत रहेकाले यी दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर शून्य दशमलव ६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः ३ दशमलव ३ प्रतिशत र ३ दशमलव ७ प्रतिशत रहेकोले दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर शून्य दशमलव ४ प्रतिशत रहेको थियो।

त्यस्तै गैरखाद्य मुद्रास्फीति ५ दशमलव ८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा गैरखाद्य मुद्रास्फीति ६ दशमलव १ प्रतिशत रहेको थियो। यस समूहअन्तर्गतको लत्ताकपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण, शिक्षा लगायतका वस्तुको मूल्य वृद्धिदर गत वर्षको तुलनामा कम रहेकोले गैरखाद्य मुद्रास्फीति कम रहन गएको हो समीक्षा अवधिमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीतिदर २ दशमलव २ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति १ दशमलव ७ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा थोक मूल्यअन्तर्गत कृषिजन्य वस्तुको मूल्य सूचकांक शून्य दशमलव १ प्रतिशतले ऋणात्मक रहेको छ भने स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकांक ६ प्रतिशत तथा आयातीत वस्तुको मूल्य सूचकांक ४ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा कृषिजन्य वस्तुको मूल्य सूचकांक शून्य दशमलव ८ प्रतिशत, स्वदेशमा उत्पादित वस्तुको मूल्य सूचकांक ४ दशमलव ७ प्रतिशत र आयातित वस्तुको मूल्य सूचकांक १ दशमलव ६ प्रतिशतले वृद्धि भएको थियो।