रश्मी थापा
छायाँकार, निर्माता र निर्देशक ः एकै व्यक्ति ३ परिचय। मञ्जुकुमार श्रेष्ठले बनाएको परिचय हो यो। छायांकनको क्षेत्रमा अब्बल सावित मञ्जुकुमार हिजोआज छायांकन कला सिकाएर यस विधाका विद्यार्थी तयार पारिरहेका छन्।
सन् २००४ मा महिला सशक्तीकरणका निम्ति निःशुल्क फोटोग्राफी वर्कसपको शुरुआत गरेका उनीद्वारा अहिलेसम्म ५ सयभन्दा बढी गृहिणी, गैर सरकारी व्यक्ति, विभिन्न संस्थाका सदस्य, मास कन्युनिकेसनका विद्यार्थी, बोल्न तथा सुन्न नसक्ने व्यक्ति तथा विभिन्न ग्रामीण क्षेत्रका व्यक्ति प्रशिक्षित भइसकेका छन्।
‘महिला सशक्तीकरणको एक आधार सीप पनि हो। फोटोग्राफी सिकेर महिलाहरू भविष्यमा आफ्नै खुट्टामा उभिन सकून् भन्ने सोचले मैले यो अभियान शुरू गरेको हुँु, डिल्लीबजारस्थित निवासमा नेपाल समाचारपत्रसँग भने– ‘पद्मकन्या स्कुलका विद्यार्थीकोे ठूलो समूहलाई पनि मैले फोटोग्राफीको तालीम दिएको छु। म त्यो बेलादेखि अहिलेसम्म फोटोग्राफीमा छु। यसका विद्यार्थी उत्पादन गर्न मेरो पनि केही योगदान हुनुपर्र्यो भन्ने सोचें। त्यसैले यो अभियान शुरू गरेको हुँ।’ त्यसो त अहिले सिने बजारमा नाम चलेका धेरैजसो छायाँकार पनि उनकै चेला हुन्।
वर्षमा एक/दुईवटा फिल्म बन्नसमेत मुस्किल ऊ जमानमा छायाँकारबाट करियरको शुरुआत गरेका मञ्जुकुमारले आफूलाई बहुप्रतिभाको धनी फिल्मकर्मी सावित गर्दै फिल्म निर्माण र निर्देशनसमेत गरेका छन्। २००७ साल मंसिर ३० गते काठमाडौंको डिल्लीबजारमा जन्मिएका मञ्जुकुमारले किशोरावस्थामा क्यामेराप्रति आकर्षित भई काठमाडांैको एक फोटो स्टुडियोमा सहायक फोटोग्राफरको रूपमा काम गरेका थिए।
त्यसको केही वर्षमै तत्कालीन शाही नेपाल चलचित्र संस्थानले निर्माण गरेको मनको बाँध नामक फिल्मको छायांकन गर्ने अवसर प्राप्त गरेका थिए। त्यस फिल्ममा उनले छायाँकार बैकुण्ठ मास्केको सहायक भई काम गरेका थिए भने स्टिल फोटोग्राफीसमेत गरेका थिए। त्यही समयमा फिल्मकर्मलाई पेसा बनाउने सोचले उनले तत्कालीन शाही नेपाल चलचित्र संस्थानमा छायांकारको रूपमा काम गरेका थिए।
तत्कालीन राजा वीरेन्द्र शाहको पालामा शाही छायाँकारको रूपमा देशका विभिन्न जिल्ला तथा विदेशका विभिन्न ठाउँको ऐतिहासिक भ्रमणमा सरिक हुँदै ती भ्रमणलाई छायांकन गरेका उनले ेबंगलादेश र काठमाडौंमा भएको सार्क समिट बैठकसहित धेरै समाचार चलचित्रको छायांकन गरेका थिए।
समाचारचित्रदेखि फिचर फिल्म र डकुमेन्ट्री फिल्मसम्म छायांकन गरी करियरलाई अगाडि बढाएका उनले पहिलोपटक जीवनरेखा नामक फिल्म एकलरूपमा खिचेका थिए। नेपालमा निजी क्षेत्रबाट फिल्म निर्माण भएपछि आफ्नो छायांकन क्षमतालाई अभैm खुलारूपमा प्रस्तुत गर्न सफल उनले निजी क्षेत्रका ७० बढी फिल्म छायांकन गरेका छन्। त्यस क्रममा उनले विश्वास, मायालु, सन्तान, तिलहरी, कन्यादान, बाडुली, लोभीपापी, परिवार, अधिकार, गोपीकृष्ण, संकल्प, सम्पत्ति, पुकार, प्रेमपिण्ड, अर्पण, टुहुरो, महामाया, झझल्को, दाजुभाइ, राजमतीलगायतका फिल्मको छायांकन गरी त्यसलाई प्राविधिक दृष्टिकोणले सम्पन्न बनाएका थिए। उनको डकुमेन्ट्री र फिचर फिल्मको संख्यासमेत जोड्ने हो भने एक सयमाथि हुन जान्छ।
मञ्जुकुमारले काम गर्ने बेला प्रविधि अहिलेजस्तो सरल र सहज थिएन। ‘त्यो बेलामा सिनेमाटोग्राफी गर्नु भनेको धेरै कठिन कार्य थियो। अहिलेको टेक्नोलोजीले काम गर्न सजिलो भएको छ। तर यो नयाँ प्रविधिबाट झुटो बोल्ने काम भयो, दर्शक झुक्याउने काम भयो। डिजिटल टेक्नोलोजीका कारण एउटा सट खिचेपछि हेरी हाल्दा सिनेमाटोग्राफरहरूको कन्फिडेन्स लुज भयो। विकास भन्ने कुरा रोकेर रोकिने होइन, समयसँगै हुँदै जाने कुरा हो।
तर डिजीटल प्रविधिले झुटो बोल्ने र कन्फिडेन्स हराउने कामचाहिँ भएको छ। किनभने अहिले आफूले खिचेको काम नराम्रो लाग्यो भने फेरि अर्को लिउँ है भनेर डिलिट गरिहाल्छन्। जुन कुरा पहिले एक सट खिचेरै कन्फिडेन्ट हुन्थ्यो। त्यो बेला हामीले अहिलेजस्तो गरेको भए निर्माताको लाखौंको लगाानी डुब्थ्यो। तर हामीले त्यसो गरेनौं, किनभने त्यो बेला टेक्नोलोजीले भन्दा पनि कन्फिडेन्सले काम हुन्थ्योे’, मञ्जुकुमार भन्छन्– ‘जति नयाँ प्रविधि आयो हामीले उत्तिकै सिक्नुपर्छ। प्रोफेसनल हुनका लागि अरूले गरेकोभन्दा फरक काम गर्नुपर्छ। बढी सिक्नुपर्छ। म सेलोलाइडको मान्छेले पहिलेको मात्र राम्रो अहिलेको प्रविधि नराम्रो भन्ने कुरा हुँदैन। नयाँ प्रविधिमा पनि आफूलाई अपडेट गर्नुपर्छ।’
प्रविधिको विकाससँगै फिल्ममा इफेक्ट प्रयोग गर्न अहिले निकै सहज र सरल भएको छ। निर्देशक वा छायाँकारले कल्पना गरेको दृश्य आधुनिक प्रविधिले सरल बनाइदिएको छ। मञ्जुकुमार भने थोत्रा क्यामरा र प्राविधिक सामग्रीको भरमा त्यही बेला आफ्नै दिमाग लगाएर पनि कमाल देखाइदिन्थे। ‘त्यो समयमा अहिलेजस्तो इफेक्टका लागि फिल्टरहरू उपलब्ध थिएनन्। म फिल्टरहरू आपैंm बनाउँथे। एक पटक यादव खरेलको निर्देशनमा बनेको एउटा फिल्मको छायांकन गर्ने क्रममा झरनामा सुटिङ गर्नुपर्ने थियो। त्यसै बेला यादव सरले यो झरनामा इन्द्रेणी देखाउन सके क्या मजा आउँथ्यो है भन्नुभयो।
म जहिले पनि फोटोग्राफीलाई असर नगर्ने एक किसिमको साधारण ग्लास लिएर ह्ँिडथे। मलाई इन्द्रेणीको दृश्य बनाउन सक्छु किजस्तो लाग्यो र म बनाऊँ सर भने। ल बनाउन सक्छौ? भन्नुभयो। मसँग त्यो बेला फिल्टर त थिएन। नेपालमा पाइँदैन पनि थियो।’ उनले सम्झिए– ‘सुन्दरीजलको त्यो झरनाको बाटोमा घाँसको भारी बोकेर हिँड्ने महिलाहरूसँग उनीहरूले लगाएको रातो, पहेँलो र हरियो रङका चुरा किनेँ।
ती चुराहरूलाई टुक्रा पारेर ग्लासको एक कर्नरमा रोखर त्यलाई फोकस आउट गरेर लेन्समा राखेपछि इन्द्रेणीको इफेक्ट आयो।’ उनीसँग उनैको दिमागले सिर्जना गरेको वास्तविकताको यस्ता किस्सा अरू पनि छन्। सुनाए– ‘प्रेमपिण्डको छायांकनको क्रममा सरोज खनालले सिलिङको झल्लर पुछ्नुपर्ने थियो। त्यही समयमा सनी रौनियार तल आउने र त्यसको रिफ्लेक्सन ऐनामा देखिनुपर्ने सिन थियो। नायिकालाई देखेर नायक मोहित हुने दृश्य थियो त्यो। अब यो दृश्य कसरी बनाउने भन्ने भयो। त्यही पनि कोसिस गर्छु भनरे हामीसँग भइरहने कालो पेपरमाथि तीन वटा लामो लामो ऐना काटेर त्यो पेपरले रोल गरेर लेन्सको अगाडि राख्दा ठ्याक्कै सोचेकोजस्तो दृश्य आयो।’
छायाँकारका रूपमा नाम कमाए पनि मञ्जुकुमारले दैव संजोग, नायक, वरपीपल र सिउँदोको सिन्दुर गरी ४ फिल्म निर्माण गरेका छन्। यीमध्ये दैव संजोग र नायकको निर्देशन उनले नै गरेका थिए। त्यसै गरी विभिन्न डकुमेन्ट्री र विज्ञापन फिल्मको निर्माण र निर्देशन पनि गरेका छन्।
अद्वितीय छायांकन कला र प्राविधिक क्षमताका कारण मञ्जुकुमारले विभिन्न फिल्मी अवार्डका साथमा शाही नेपाल चलचित्र संस्थान सम्मान अवार्ड, प्रिया म्यागेजिनको उत्कृष्ट सम्मान, नेपाल मोसन पिक्चरको सम्मान, सयपत्री फिल्मसबाट सम्मान, नेपाल सांस्कृतिक संघ सम्मानलगायतका विभिन्न सम्मान र पुरस्कार प्राप्त गरेका छन्। उनी गत माघमा राजधानीमा सम्पन्न लक्स कामना फिल्म अवार्डस् २०७४ मा प्रविधितर्पmको कीर्तिमय दीर्घ योगदान सम्मानबाट पनि सम्मानित भएका छन्।
प्रतिक्रिया