बासकोटाको चौका दाउ


संगीतकार शम्भुजित बासकोटाले लेखेको कथामा फिल्म बन्ने भएको छ। यसअघि पनि केही फिल्मका लागि कथा लेख्दै आएका संगीतकार बासकोटाको लेखनमा उनकै जन्मदिन पारेर उनको गायक तथा संगीतकार पुत्र सौर्यजित बासकोटाले फिल्म निर्माण गर्न लागेका हुन्।

चौका दाउ नाम दिइएको फिल्मको बिहीबार राजधानीमा आयोजित समारोहबीच निर्माण घोषणा गरिएको छ। फिल्ममा संगीतकार बासकोटाको कथा र संगीत रहनेछ। बासकोटाले यो मनोरञ्जन प्रधान समाजिक फिल्म हुने बताए। आगामी नयाँ वर्षको वैशाखबाट छायांकन शुरु गरिने फिल्म तिहारमा रिलिज गरिने उनले बताए। यो फिल्मको निर्देशन पूर्णेन्दु झाले गर्दै छन्। यसअघि राजनीतिक कथाको फिल्म संरक्षण निर्देशन गरेका झाले आफ्नो पहिलो चौका दाउ फरक हुने र हास्यप्रधान प्रेमकथामा हुने खुलाए। फिल्ममा विल्सनविक्रम राई, रवीन्द्र झा, सन्तोष पन्त, तैयब शाह, निर्मल शर्मा, मेषरञ्जन झा, पुष्करबहादुर गुरुङ चयन भइसकेका छन् भने नायक र नायिका चयन गर्न बाँकी छ।

कार्यक्रममा हास्य अभिनेता सन्तोष पन्तले कथा सशक्त र रमाइलो लागेकाले यो फिल्ममा अभिनय गर्न लागेको बताए। अर्का कलाकार विल्सनविक्रम राईले बासकोटाको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा जोडिन पाउँदा खुसी व्यक्त गरे। सौर्यजित बासकोटाको साथमा मनोजराज भण्डारीले निर्माण गर्न लागेको फिल्ममा दीर्घ गुरुङको छायांकन, शम्भुजित अभिमन्यु निरवीको पटकथा र संवाद, मित्रदेव डी गुरुङको सम्पादन, चन्द्र पन्तको द्वन्द्व निर्देशन, वसन्त श्रेष्ठ र मौसम हिमालीको नृत्य निर्देशन, श्रीपुरुष ढकाल र दयाराम पाण्डेका गीत, शम्भुजित बासकोटाको संगीत, बासकोटासहित सुमन गुरुङ र कोमल राजभण्डारीको स्वर रहनेछ। कार्यक्रममा केक काटेर संगीतकार बासकोटाको जन्मदिन मनाइएको थियो।