पञ्चासेको काखमा बास

0
Shares

टीका बन्धन

गत साता नेदरल्यान्डस् बाट पोखरा घुम्न पुगेका मुन र उनका साथी ग्रेटलाई पोखरा बसाइले रामै्र मन जित्यो। यही यात्रामा उनीहरूले पहिलोपटक नेपालको ग्रामीण जीवनको रहनसहनसँग नजिकिने अवसर खोजे। त्यस्तो अवसर खोज्दै यो जोडी पोखरा नजिकैको दमदमे होमस्टेसम्म पुग्यो। एक रात उतै बसे, स्थानीयले पकाएको परिकार र आसपासको वातावरणमा रमाए। केही दिनअघि दमदमेमा भेटिएकी मुनले भनिन्– ‘हाम्रो लागि होमस्टे नौलो अनुभव भयो, स्थानीयको दैनिकी नियाल्ने मौका मिल्यो हामी धेरै खुसी छौं।’

इन्टरनेटमार्फत ग्रेट र मुनले त्यहाँको होमस्टे सेवाबारे जानकारी पाएका हुन्। नेपाल आउने तयारीमा रहँदा आफ्नै मुलुकबाट ग्रामीण भेगको घरबास सेवाबारे थाहा पाएपछि दमदमे पुग्ने योजना बुनिएको ग्रेटले खुलासा गरे। होमस्टे बसाइका क्रममा नेपालको ग्रामीण जनजीवन, परम्परागत अभ्यास र आसपासको हरियाली वातावरणले सो दम्पतीको मन जितेको थियो। मुन र ग्रेट मात्र होइन, अन्य विदेशी दम्पती र पर्यटक पनि इन्टरनेट सूचनाका आधारमा दमदमे र सोभन्दा माथिको बस्ती सिदाने र आसपासका होमस्टेमा बास बस्न पुग्छन्।


कास्की, स्याङ्जा र पर्वतको संगमस्थल हो पञ्चासे। २५ सय मिटरभन्दा माथिको उचाइमा रहेको पञ्चासे जैविक विविधताले सम्पन्न छ। पञ्चासे र पञ्चासेको तल्लो भेग घुमफिरका लागि पुग्नेहरू आसपासका बस्तीमा बास बसेर फर्कन्छन्। पञ्चासेको काखमा रहेका पुराना बस्तीमा होमस्टे अर्थात् घरबास सेवा शुरू भएपछि केही वर्षयता ती क्षेत्र स्वदेशी तथा विदेशी पाहुनाको घुमफिरका गन्तव्य बन्न थालेको छ। प्राचीन गुरुङ बस्तीका होमस्टेमा स्थानीयले आफ्नै संस्कृतिअनुसार स्वागत गर्छन्, आफ्नै चुलो र अगेनामा पाकेका परिकार खुवाउँछन्। कास्कीका दमदमे, सिदाने, भदौरे, तालीब्राङसँगै पर्वतका चित्रे, आर्थर र स्याङ्जाको बाङ्गेफड्केका गाउँमा होमस्टे सेवा छ।

दमदमे, सिदाने र भदौरे फेवाताल जलाधार क्षेत्रमा रहेका बस्ती हुन्। पोखराको लेकसाइडबाट करिब १५ किमि कच्ची बाटो छिचोल्दै दमदमे पुग्न सकिन्छ भने सिदाने करिब २० किमि टाढा छ। पोखरादेखि कास्कीको ढिकुरपोखरी हुँदै करिब २७ किमि टाढाको भदौरे गाउँ पुग्न सकिन्छ। भदौरे र तालिब्राङ आसपासका बस्ती हुन्। चित्रे पोखराबाट लुम्ले हुँदै पवर्तको डिमुवाबाट कच्ची बाटो छिचोल्दै करिब ३ घण्टा र आर्थर नागडाँडा हुँदै ४ घण्टाको यात्रापछि पुगिन्छ। पोखराबाट सिद्धार्थ राजमार्गको खर्केटारी हुँदै करिब ३ घण्टामा स्याङ्जाको बाङ्गेफड्केको होमस्टे पुग्न सकिन्छ।

‘ग्रामीण भेगमा बास बस्नेहरू स्थानीय उत्पादन र परिकार रुचाउँछन्’, दमदमेकी स्थानीय पुष्पा गुरुङ भन्छिन्– ‘नेपाली परिकार (दाल, भात, तरकारी) दही, दूध, घ्यूसहित मकै, भटमास यहीं हामीले हुर्काएको फलाएको पकाउन–खुवाउन समस्या छैन।’ लोकल कुखुरा र अन्य माछा–मासु भने बजार मूल्यभन्दा केही महँगो पर्ने उनले बताइन्। स्थानीयले एक रातको बास, बेलुकाको सादा खाना, बिहानको चिया–नास्ताको शुल्क प्रतिव्यक्ति ५ सय रुपियाँ लिन्छन्। पोखराबाट सिदाने र दमदमे पुग्न बिहान र बेलुका बस सेवा उपलब्ध छ।

दुवै बस्तीका अधिकांश घर ढुंगाको छानो र परम्परागत शैलीका छन्। ती बस्ती पोखरा महानगरपालिका–२३ भित्र गाभिए पनि नगरको झल्को केही पनि देखिँदैन। भदौरे पुग्नेका लागि त्यहाँ खुलेको गुरुङ संग्रहालय विशेष आकर्षण बन्न सक्छ। गुरुङ जातिले प्रयोग गर्ने भाँडाकुँडा, भेषभूषा, कपडा र अन्य प्राचीन संस्कृतिलाई त्यहाँ नियाल्न सकिन्छ। मझ्यौला आकार र उचाइका रुखझैं देखिने दुर्लभ वनस्पती छत्रे उन्यू त्यहाँको अर्को आकर्षण हो। मुलुकका अन्य भेगमा खासै नभेटिने⁄नदेखिने छत्रे उन्यू त्यहाँका ओसिला पाखा र खोल्साखोल्सीमा बाक्लै देख्न सकिन्छ।

लेकचाप र अन्य दुर्लभ वनस्पती पनि त्यही आसपासमा संरक्षण गरिएको छ। दुर्लभ वनस्पतीबारे स्थानीयलाई अवगत गराएपछि संरक्षण कार्यक्रम प्रभावकारी बन्दै गएको पञ्चासे संरक्षित वनका अध्यक्ष गोपाल गुरुङ बताउँछन्। आसपासका अप्ठ्यारा भीरपाखामा देखिने भीरमौरी आगन्तुकका लागि आकर्षण बन्न सक्ने उनको बुझाइ छ। युवा पुस्ता विभिन्न सेवा सुविधा खोज्दै पोखरा र अन्य सुगम क्षेत्रतर्फ बसोबास गर्न थालेपछि गाउँघरको परम्परागत संस्कृति मासिने हो कि भन्ने गुरुङलाई चिन्ता छ। ‘मौलिक संस्कृति जगाउन सकियो भने मात्रै हामीले बाहिरका पाहुना भित्त्याउन सक्छौं’, उनले भने– ‘नयाँ पुस्ता यसबारेमा खासै गम्भीर छैन।’

होसस्टे सञ्चालनमा रहेका अधिकांश घरमा खासै ठूलो चहलपहल भने देखिँदैन। परिवारका सदस्य पोखरा र अन्यत्र बसाइ सर्न थालेपछि बस्ती पातलिएको छ। पुरुषजति प्रायः रोजगारीका सिलसिलामा बिदेसिएका छन् भने घरमा महिला र जेष्ठ नागरिक भेटिन्छन्। आर्थरका स्थानीयसमेत रहेका पञ्चासे संरक्षित वनका अध्यक्ष गुरुङका अनुसार स्थानीयले पूर्णरूपमा आफ्नो थलो माया मार्न सकेका छैनन्। ‘शहर बजारबाट नजिकै भएर होला धेरैजसो चाहिँ गाउँमा पनि ओहोर–दोहोर गरिरहन्छन्’, उनले भने– ‘नयाँ पुस्ताचाहिँ बिदेसिन्छन् कि भन्ने चिन्ता लाग्छ।’

तर, होमस्टे थप व्यवस्थित गर्दा पोखरा पुग्ने पर्यटकको बसाइ अवधि लम्ब्याउँदै आफ्नै घर–आँगनमा स्वागत गर्न सकिने स्थानीयले पनि बुझेका छन्। स्थानीयस्तरमा रोजगार र आम्दानीको स्रोत बढाउन सकिने उनीहरूको ठहर छ। गैरसरकारी संस्था माछापुच्छ«े विकास संघका कार्यकारी अधिकृत दिलबहादुर भट्टराई भन्छन्– ‘ग्रामीण भेगमा गाडी चल्न थालेपछि मौसमअनुसारका सब्जी र अन्य आग्र्यानिक उत्पादन पोखरा पुर्याउन पनि सकिने प्रचुर सम्भावना छ।’ उनका अनुसार होमस्टे पुग्नेहरू कलेज तहका विद्यार्थी, विभिन्न क्षेत्रका कर्मचारी बढी हुन्छन् भने मौसमअनुसार विदेशी पाहुना पनि ग्रामीण भेग पुगिरहेका हुन्छन्।
शौचालय र खानेपानीलाई थप व्यवस्थित बनाएको खण्डमा विदेशी पर्यटकको मन ग्रामीण भेगले जित्न सक्ने भट्टराईको बुझाइ छ।

पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन कार्यक्रम (ईबीए) को सहयोगमा पञ्चासेको काखका बस्तीमा होमस्टे सेवा शुरु भएको हो। जलवायु परिवर्तनका कारण देखिएका असरलाई पारिस्थितिकीय प्रणाली अपनाएर अनुकूलन गर्ने उद्देश्यका साथ पञ्चासे र पञ्चासेको फेदीका बस्तीमा ईबीए कार्यक्रम सञ्चालनमा छ। होमस्टे स्थापना, गोठ भकारो सुधार, प्राङ्गारिक कृषि, तरकारीका बीउ⁄बेर्ना उत्पादन, मौरीका घार वितरण, पानीका स्रोत संरक्षण, पहिलो नियन्त्रण जस्ता अभ्यास ईबीए कार्यक्रमभित्र समेटिएका छन्।

अम्रिसो लगाएर स्थानीयले आम्दानीसमेत गर्न थालेका छन् भने अम्रिसो र बाँस रोपेर पहिलो नियन्त्रणको अभ्याससमेत गरिएको छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) को अगुवाइमा ५ वर्षअघिदेखि त्यहाँ यस्तो कार्यक्रम शुरू भएको हो। वर्षायाम सकिएसँगै स्वदेशी पर्यटक पञ्चासे पुग्ने गर्छन्। यही सिलसिलामा पर्यटक होमस्टेका लागि पनि आउने गरेका दमदमे होमस्टेकी अध्यक्ष दरकुमारी गुरुङले जानकारी दिइन्। उनका अनुसार विदेशी पर्यटकले प्रायः नेपाली परिकार नै खान रुचाउँछन्। होमस्टे पुग्ने पाहुनासँगको भाषा र संवाद सरल नहुँदा कहिलेकाहीं व्यावहारिक कठिनाइ हुने गरेको उनको अनुभव छ। स्वदेशी⁄विदेशी पर्यटक मात्रै होइन, जैविक विविधताको अनुसन्धानका लागि जुट्नेहरूका लागि पनि पञ्चासे र आसपासका बस्ती बास बस्ने रोजाइको गन्तव्य रहेको संरक्षणकर्मीहरूको बुझाइ छ।