ओबामाको डिनर सम्झना काँचको बाकसमा

0
Shares

हनोइ, (एजेन्सी)
दुई वर्षअघि भियतनामको औपचारिक भ्रमणको क्रममा अमेरिकी राष्ट्रपति बाराक ओबामाले सेफ एन्थोनी बोर्डेनसँग बसेर डिनर खाएको टेबुल भावी पिँढीका लागि समेत देखाउनका लागि संरक्षण गरी प्रदर्शनमा राखिएको छ। टेबुल डिनर सेट र वियर सिसीहरू ऐनाको बाकसभित्र सजाइएका छन्।

हनोइ स्ट्रिट फुड रेस्टुरेन्टका मालिकले प्लास्टिकका स्टुलमा बसेर ६ अमेरिकी डलर तिरेर ती दुई व्यक्तिले खाएको क्षणलाई ऐतिहासिक स्मरण बनाउन ग्राहकहरूले सल्लाह दिएको बताएका छन्।

त्यहाँ खान आउने ग्राहकहरूले ओबामाले खाएको स्थान र के खाएको भन्नेबारे चासो दखाउने गरेको बुझिएको छ। उक्त बुन चा हुओङ लियन रेस्टुरेन्टका मालिक गुयन थि हाँग न्गाले बीबीसीलाई बताएका छन्– ‘ग्राहकहरूले त्यो टेबुलसँगै बसेर तस्वीर खिचाउने गरेका छन्। हाम्रो लागि पनि बाराकको डिनरको सम्झनाले सधैं प्रफुल्लित बनाइरहने छ।’
तर यो रेस्टुरेन्टप्रति ध्यानाकर्षण गर्ने कुनै खेल भने होइन। फेब्रुअरीको मध्यतिर चान्द्रिक नयाँ वर्षदेखि यस टेबलको यसरी प्रदर्शन शुरु गरिएको हो। तर मलाई यसैको कारण ग्राहकको संख्या बढेको जस्तो भने लाग्दैन। तर बाराकले प्रयोगरेका कचौरा, प्लेट र वियर सिसी धोएर राखिएको भने पक्कै हो।’

भियतनामका महान कम्युनिस्ट नेता होचि मिन्हले प्रयोग गरेका वस्तुहरू पनि यसरी नै सम्मानपूर्वक संरक्षण गरी प्रदर्शनमा राखिएका छन्। तर कुनै पनि विदेशी प्रतिष्ठित व्यक्तित्वलाई यसरी सम्मानपूर्वक सम्झिएको भने यो पहिलो घटना हो। इन्स्टाग्राममा राखिएको ओबामा र सेफले सँगै डिनर खाएको तस्वीरमा १ लाख २० हजारभन्दा बढी लाइक र हजारौं टिप्पणी गरिएका छन्।