स्वच्छ वायुसँगै भित्रिन्छ प्रदूषण

0
Shares

टीका बन्धन, काठमाडौं
काठमाडौं उपत्यकालाई प्रदूषणमुक्त बनाउन उपत्यकामा सञ्चालित इँटा उद्योग अन्यत्र स्थानान्तरण गर्नुपर्ने बहस भइरहेका बेला धादिङको नौबिसे र आसपासमा खुलेका नयाँ भट्टाले चुनौती थपेका छन्।

उपत्यकामा स्वच्छ हावा भित्रिने मुख्य नाका (पश्चिमी भेग) बाट सोझै भट्टा र अन्य कलकारखानाको धुवाँ पनि भित्रन थालेपछि प्रदूषण दीर्घकालीन चुनौतीका रूपमा रहने सम्भावना थपिएको छ। काठमाडौंको कलंकीबाट २६ किमि नजिकको नौबिसे र आसपासको क्षेत्रमा करिब आधा दर्जन इँटाभट्टा सञ्चालनमा छन्।

धादिङभर करिब ३ दर्जन नयाँ⁄पुराना भट्टा सञ्चालनमा रहेका नेपाल इँटा उद्योग महासंघको तथ्यांक छ। काठमाडौंमा अधिकांश समय पश्चिमी भेगबाट वायु भित्रिने वातावरणविद् बताउँछन्।

मनसुनको अन्त्यसँगै उपत्यका भित्रिने वायुले प्रदूषण, धुवाँ, धुलोको मात्रा पनि भित्रिर्याउने भएकाले उपत्यकामा प्रदूषण बढ्ने गरेको जानकारहरूको तर्क छ। इँट्टा उद्योगमा सुधारिएको चिम्नी प्रयोगमा ल्याइए पनि उत्पादनमा परम्परागत विधि विस्थापित हुन नसक्दा प्रदूषण न्यूनीकरण हुन नसकेको वातावरण विभागका सिनियर केमिस्ट शंकरप्रसाद पौडेल बताउनुहुन्छ।

‘इँटा उद्योगमा वातावरणमैत्री नवीनतम प्रविधिको खाँचो छ, कुन क्षेत्रमा उद्योग सञ्चालनको अनुमति दिँदा वातावरणीय असर कस्तो पुग्छ भन्ने बारेमा अझै पनि गम्भीरता लिएको पाइँदैन।’ –उहाँले भन्नुभयो। उपत्यकामा प्रदूषण उत्सर्जन गराउने धेरै कारणमध्ये इँटा उद्योग पनि हुन्। इँटाभट्टाले करिब १० प्रतिशत, ६० प्रतिशत प्रदूषण सडक, पूर्वाधार निर्माण, सवारी र बाँकी अन्य कलकारखानाले बढाइरहेको वातावरण विभागको ठहर छ।

उपत्यकाभर १ सय १० वटा भट्टा सञ्चालनमा रहेका इँटा उद्योग महासंघको तथ्यांक छ। तर इँटा उत्पादनमा परम्परागत विधि विस्थापित हुन थालेपछि इँटा उद्योगकै कारणले हुने प्रदूषणको मात्रामा कमी आएको महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकार दाबी गर्नुहुन्छ।

उहाँका अनुसार मुलुकभर करिब १ हजार इँटाभट्टा सञ्चालनमा छन्। ‘हाल सञ्चालनमा रहेका ८० प्रतिशत उद्योगले कालो धुवाँ फाल्दै फाल्दैनन्, अन्यलाई पनि आधुनिक विधि सिकाउन हामीले प्राविधिक खटाइरहेका छौं’ –चित्रकारले भन्नुभयो।

प्रदूषण बढाउने कारक तत्वका रूपमा मात्र इँटा उद्योगलाई हेर्न नहुने, भारतीय उद्योग र कलकारखानाले पनि नेपालमा प्रदूषण बढाएको पक्षलाई लुकाउन नहुने उहाँको तर्क छ। वातावरण संरक्षण ऐन २०५४ कार्यान्वयनमा आएसँगै इँट्टाभट्टामा इन्धनको रूपमा दाउराको प्रयोग हुन छोडेको र प्रदूषणको मात्रा पनि घट्न थालेको व्यवसायी बताउँछन्। तर मनसुन अन्त्यसँगै भित्रिने पश्चिमी वायुले प्रत्यक्ष⁄अप्रत्यक्ष काठमाडौंमा प्रदूषण बढाइरहेको विज्ञहरूको ठहर छ।

तराईमा बढ्दो प्रदूषण, तुवाँलो र शीतलहर भारतीय उद्योगका कारणले बढ्दो क्रममा रहेको बताइन्छ। सिरिया, अफगानिस्तान, पाकिस्तान, उत्तर पश्चिम भारत हुँदै पश्चिमी वायु (हिउँदे वायु) नेपाल भित्रिन्छ। त्यस्तो वायुमा ‘हेज’को मात्रा उच्च रहन्छ। कलकारखानाबाट निस्कने धुलो, धूवाँ र अन्य सुक्खा कणको मिश्रण नै ‘हेज’ हो।

वरिष्ठ मौसमविद् मणिरत्न शाक्यका अनुसार वर्षा शुरु नभएसम्म पाकिस्तानको मरुभूमि बलुचिस्थान र भारतको राजस्थान आसपासका धेरै कलकारखानाको धुलो र धुवाँ नेपाल भित्रिने गर्छ। खास गरी मनसुन पूर्वाद्र्ध (प्री मनसुन) को समयमा तीव्र रूपमा बहने वायुमा ‘हेज’को मात्रा अध्याधिक हुने भएकाले काठमाडौंमा प्रदूषण बढ्ने गरेको उहाँले बताउनुभयो।

‘तीव्र रूपमा हावा चल्दा हावामा धुलो र धुवाँको कणको मात्रा अत्यधिक हुन्छ, पाकिस्तान र भारत हुँदै भित्रिने वायुले काठमाडौंमा प्रदूषण पनि भित्त्याइरहेको हुन्छ’ –शाक्यले भन्नुभयो। हेजले बादलले झैं आकाश ढाकेर मौसम प्रस्ट रूपमा खुल्न दिँदैन, हवाई भिजिबिलिटी पनि कमजोर बनाउँछ।