विमान दुर्घटनामा मर्नेको संख्या ५१ पुग्यो



नेपाल समाचारपत्र
काठमाडौं
बंगलादेशको ढाकाबाट काठमाडौं आउँदै गरेको यूएस बंगला विमान दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ। सोमबारसम्म ४९ जनाको मृत्यु भएकोमा मंगलबार थप २ जनाको मृत्यु हँुदा मृतकको संख्या ५१ पुगेको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा २२ नेपाली, २८ बंगलादेशी र १ चिनियाँ नागरिकको मृत्यु भएको हो।

विमानमा ६७ जना यात्रु सवार रहेको विमानमा ३३ जना नेपाली थिए। चालक दलका ४ सहित कुल ७१ यात्रु सवार थिए। मन्त्रालयले शव परीक्षणको काम भइरहेको तथा पहिचानपछि परिबारजन र आफन्तलाई बुझाउने बताएको छ।

घाइते बंगाली, नेपाली र माल्दिभ्सका नगारिकसहित २० जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।

घाइतेमध्ये ४ जनाको आईसीयूमा उपचार भइरहेको छ। जसमध्ये २ जना नेपाली छन् भने २ बंगाली रहेका छन्। केही घाइतेबाहेक अन्य अवस्था सामान्य रहेको संस्कृति तथा नागरिक उडड्यन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले बताउनुभयो।

एयर ट्राफिक कन्ट्रोलरको निर्देशन नमान्दा र असामान्य अवस्थाबाट सोमबार २ बजेर १८ मा विमान अवतरण गराउन खोज्दा दुर्घटना हुन पुगेको थियो।

पाइलटले पटकपटको निर्देशनको बेवास्ता गर्दै विमान अवतरण गर्न खोज्दा दुर्घटना भएको प्रारम्भिक अध्ययनले देखाएको छ। विमानको बारेमा छानविन प्रतिवेदनपछि मात्र ठोस तथ्य आउने नागरिक उड्डयन प्रधिकरणले जनाएको छ।

यूएस बंगला विमानका सीईयोले बंगलादेशमा मिडियालाई दिएको प्रतिक्रियामा नेपालको एयर ट्राफिक कन्ट्रोलरले दिएको निर्देशन अपुष्ट हँुदा दुर्घटना भएको जनाएको छ। नेपालको सम्बन्धित मन्त्रालयले भने छानविन समितिको प्रतिवेदनबाट मात्र यथार्थ जानकारी आउने बताएको छ। ‘मैले बंगलादेशको नागरिक उडड्यन प्राधिकरणका मेरो समकक्षी र सेफ्टी मेनेजरसँग कुराकानी गरेको छु उहाँहरूबाट कुनै किसिमको प्रतिक्रिया आएको छैन् घटनाको जानकारी गराएको छु –प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भन्नुभयो।

मृतक बंगाली र चिनियाँ नागरिकको शव भने पोस्टमार्टमपश्चात परराष्ट्र मन्त्रालय तथा दूतावासमार्फत् जनरल सेल्स एजेन्ट र प्राधिकरणको सहयोगमा आफन्तको जिम्मा लगाइने विमानस्थलले जनाएको छ।

बंगलादेशी मन्त्री काठमाडौंमा

विमान दुर्घटनाको वस्तुस्थितिबारे बुझ्न बंगलादेशका पर्यटनमन्त्रीसहितको प्रतिनिधि मण्डल काठमाडौं आएको थियो। प्रतिनिधि मण्डलले साँझ होटल याक एण्ड यतिका संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिवसहितको टोलीलाई भेटर विमान दुर्घटनाबारेमा जनाकारी गराएको थियो।

नेपाली टोलीले दुर्घटनामा मृत्यु भएका बंगाली नागरीको चिर शान्तिको कामना गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। नेपाली मण्डलमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम, उपमहानिर्देशक राजन पोखरेल र विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीलगायतका उच्च पदस्थ कर्मचारी सहभागी थिए भने बंगलादेशका तर्फबाट करिब २० जनाको टोली नेपाल आएको थियो। टोलीमा घाइतेका आफन्त तथा पत्रकारहरू पनि रहेका छन्।

छानविन समितिले काम थाल्यो

सोमबार बेलुकी बसेको मन्त्रिपरिषद्को बैठकले विमान दुर्घटना सम्बन्धमा छानबिन गर्न पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ६ सदस्यीय जाचँबुझ आयोग गठन गरेको थियो। छानविन समितिले मंगलबारबाट काम थालेको छ।

विमान दुर्घटनाको यथार्थ प्रतिवेदन चाँडै आउने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव सुरेश आचार्यले जानकारी दिनुभयो। समितिले मन्त्रालयमा नै बसेर दुर्घटनाको बारेमा छानविन गर्नेछ।

आयोगका सदस्यमा प्रमुख सेनानी डा. राजीव देव तथा क्याप्टेनहरू केके शर्मा, सुनिल प्रधान र उद्धवप्रसाद सुवेदी तथा सदस्यसचिवमा पर्यटन मन्त्रालयका सह–सचिव बुद्धिसागर लामिछाने रहनुभएको छ। विमान दुर्घटनाको बारेमा अनुसन्धान गरेर नै कारण खोजी गरिनेछ। यसका लागि सरकारले नै दुर्घटनाको बारेमा अध्ययन अनुसन्धान गर्नेछ। त्यसमा बंगलादेशी नागरिक उडड्यन प्राधिकरणका प्रतिनिधि पनि संलग्न हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्