मृतक परिवारको पीडा ‘आशैआशमा सास गयो’

0
Shares

प्रशान्त वली, काठमाडौं
मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा शव बुझ्न आफन्तहरूको निकै भिडभाड थियो। शोकमा परेका आफन्तलाई सान्त्वना दिन आउने आफन्तहरूको ओहोरदोहोर जारी छ। शव बुझ्नका लागि जाहेरी दिने काम पनि चलिरहेको देखिन्थ्यो। आफन्तहरूको अनुरोधमा शव हेर्नका लागि एक–एक जना गरी पठाइँदै थियो शवगृहमा। त्यहाँ पुग्नेहरू सबै वियोगले विक्षिप्त देखिन्थे।

त्यही क्रममा मृतक निगा महर्जनका काका भीमलाल पनि विक्षिप्त अवस्थामा भेटिए। उनी यताउता छटपटाइरहेका थिए। ललितपुर पाटन सुन्धाराकी २४ वर्षीया निगा महर्जन एमबीबीएसको अन्तिम परीक्षा दिएर घर फर्किंदै थिइन्। थेसिस मात्रै गर्न बाँकी रहेकाले उनी घर आउन हतारिएकी उनका आफन्तले बताएका छन्।

उनका बुबा दीपक महर्जन र आमा लक्ष्मी महर्जन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि कुरिरहेका थिए। उनलाई कुर्दै गर्दा विमान दुर्घटना भएको खबरले सबैलाई स्तब्ध बनायो। कति मरे कति बाँचे कति घाइते भए यकिन भएको थिएन। घाइतेहरूलाई नजिकै रहेको केएमसी हस्पिटलमा लगेको खबरले त्यतै भौंतारिए निगाका आफन्त। अन्ततः निगाको पनि सोही दुर्घटनामा ज्यान गएको उनका आफन्तले बताएका छन्।

काका भीमलाल महर्जनले भने– ‘पोस्टमार्टमका लागि निवेदन दिएको छु। म अहिले टिचिङमा बिहानैदेखि बसिरहेको छु। भाउजू बेहोस भएर बीएन्डबी अस्पतालमा हुनुहुन्छ। प्लेनको टिकट बुकिङ त चैत्र १ गतेको थियो। प्यासेन्जर नपुगेर निगालाई बोलाएको हो रे।’ महर्जनले थपे– ‘भाउजू अझै छोरी बाँचेकी छ कि भन्ने आशामा हुनुहुन्छ। हामीले जानकारी गराएका छैनौं घटनाका बारेमा। उहाँलाई मानसिक तनाव पनि छ।’

नुवाकोट त्रिशूलीकी २२ वर्षीया स्वेता थापा पनि एमबीबीएसकै परीक्षा सकेर सोही विमानमा घर फर्किंदै थिइन्। उनलाई विमानस्थलमा लिनका लागि आमा उर्मिला पुग्नुभएको थियो। तर, अफसोच छोरीलाई स्वागत गर्ने उर्मिलाको सपना तुहियो। स्वेताका दाइ दिवेश थापा भन्छन्– ‘सानैदेखि डाक्टर बन्छु भन्थी। अब डाक्टर भएर छोरी घर आई भन्ने थियो। तर, के गर्ने बहिनी अनि घरको सपना दुर्घटनाले तुहाइदियो।’
यूएस–बाङ्ला एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु हुने अधिकांशको शव सनाखत हुन नसकेको त्रिवि शिक्षण अस्पताल महाराजगन्जले बताएको छ। दुर्घटनाका मृतकहरूको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मंगलबारबाट पोस्टमार्टम तथा परीक्षण गर्न थालिएको छ। अस्पतालका फोरेन्सिक विभागका प्रमुख डा. प्रमोद श्रेष्ठले मंगलबार पत्रकार सम्मेलनमा काठमाडौं मेडिकल कलेज केएमसीबाट ल्याइएका ८ शवबाहेक अन्य सबैको पहिचान गर्न गाह्रो रहेको बताउनुभयो। निकै जलेको अवस्थामा रहेकाले शव पहिचान गर्न नसकिने अवस्था रहेको उहाँको भनाइ छ।

डा. श्रेष्ठले पत्रकार सम्मेलनमा भन्नुभयो– ‘शव पहिचानका लागि शुरुआतमा फिंगर प्रिन्ट, दाँत, लुगा र गरगहनाको परीक्षण गरिनेछ। त्यसबाट पनि पहिचान गर्न नसकिए अन्तिममा डीएनए परीक्षण गर्नुपर्छ।’ मृत्युको कारणभन्दा पनि शवको पहिचान गर्न आफूहरू लागिपरेको अस्पताल स्रोतले बताएको छ। पहिचान खुलेका शवहरू परिवार र आफन्तजनलाई छिटोभन्दा छिटो हस्तान्तरण गरिने बताइएको छ। शवहरूको अवस्था हेर्दा परीक्षणसहित सबै प्रक्रिया पूरा गरी आफन्तजनलाई बुझाउन करिब ५ दिनको समय लाग्ने शिक्षण अस्पताल स्रोतले जनाएको छ।

पछिल्लो विवरणअनुसार दुर्घटनामा चालक दलका सदस्यहरूसहित ५१ जनाको मृत्यु भएको छ। जसमा २२ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ छन्। अहिलेसम्म ११ वटा शवको पोस्टमार्टम भएको छ। दुर्घटनाका घाइते २१ जनाको केएमसी, नर्भिक, ग्रान्डी, मेडिसिटी र ओम अस्पतालमा उपचार भइरहेको छ।