एउटै मन्त्रालयमा तीन सचिवको दरबन्दी



ईश्वरराज ढकाल, काठमाडौं
सरकारले शिक्षा, विज्ञान प्रविधि तथा युवा र खेलकुद मन्त्रालयमा ९ वटा महाशाखा राख्ने तयारी गरेको छ। संघीय सरकार गठन भएसँगै मन्त्रालय पुनर्गठन भएपछि संरचना तयार गर्न बसेको बैठकले प्रारम्भिकरूपमा ९ वटा महाशाखाको प्रस्ताव गरेको छ। तीन मन्त्रालय पुनर्गठन भएपछि सो मन्त्रालयमा तत्कालका लागि ३ सचिव राख्ने तयारी सरकारले गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिनहुँजसो भएको बैठकमा तत्काल ९ वटा महाशाखा राख्ने गरी प्रारम्भिक प्रतिवेदन तयार भएको छ। मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा बसेको बैठकमा शिक्षा मन्त्रालयले प्रारम्भिक प्रतिवेदन तयार गरेको हो।

शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले दिनहुँजसो बैठक भएपछि अहिलेसम्म टुंगो नलागेको जानकारी दिनुभयो। तर, प्रारम्भिकरूपमा खाका तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको जानकारी दिनुभयो।

मन्त्रालयका अनुसार उच्चशिक्षा, प्राविधिक शिक्षा, कर्मचारी प्रशासन, योजना र अनुगमन गरी पाँच महाशाखा कायम गरेको छ। त्यस्तै विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत ४ वटा विभाग सिफारिस गरिएको छ। शिक्षा मन्त्रालयले हाल भएका पाँचवटै महशाखा कायम गर्नुपर्ने भन्दै प्रस्ताव पेस गरेको थियो।

शिक्षाको ५ र थपिएका विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदको ४ वटा महाशाखा प्रस्ताव गरिएको छ। करिब तीन सातादेखि सो मन्त्रालय संगठन तथा कर्मचारी व्यवस्थापन गर्न लगातार छलफल भइरहेको छ। शुरूमा ७ महाशाखा त्यसपछि १० वटा अहिले ९ वटा महाशाखा सिफारिस गरेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. लम्सालले ९ वटा संरचना सिफारिस भएपछि तत्काल यति नै बनाउने भन्ने विषयमा निर्णय भइनसकेको जानकारी गर्दै केही दिनभित्र संरचना तयार हुने बताउनुभयो।

शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयका अधिकारीहरू सधैं मन्त्रालय पुनर्गठनको विषयमा छलफल गरिरहेका छन्।३ मन्त्रालय गाभिएपछि बनेको शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयमा कसरी कर्मचारी समायोजन गर्ने भन्ने विषयमा भएको छलफलले निष्कर्ष निकाल्न सकेको छैन।

३ सचिवलाई एउटै मन्त्रालयमा राख्ने भन्ने विषयसमेत अन्योल छ। मन्त्रालयका प्रवक्ता लम्सालले संरचना पुनर्गठन गरेपछि सबै समस्या समाधान हुने बताउनुभयो।

उहाँले भन्नुभयो– ‘केही दिनमा निर्णय गर्नेछौं, त्यसपछि सबै व्यवस्थापन हुनेछ। सबै मन्त्रालयका सचिवले मन्त्रालय पुनर्गठन गर्दा कसरी कर्मचारी व्यवस्थापन गर्ने भन्ने विषयमा लगातार छलफल गरिरहेका छन्।’

महाशाखालगायतका संरचना व्यवस्थापन नगर्दा महाशाखाका जिम्मेवारी सम्हाली रहेका सहसचिवहरू आफूले कुन महाशाखा पाउने भन्ने विषयमा अन्यौलमा छन्।

प्रतिक्रिया दिनुहोस्