विप्लव समूहको चेतावनी, ‘नायक फेरिए तर फिल्मको आधा दृश्य बाँकी नै छ’

0
Shares

नरेन्द्र केसी, घोराही
चुनाव वहिष्कारसहित राज्य र मुख्य दलको विपरीत धारका रूपमा आफूलाई स्थापित गर्दै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले क्रान्ति जारी रहेको भन्दै बाँकी खण्ड पूरा गर्ने दाबी गरेको छ। सो पार्टीका एक प्रभावशाली नेताले बिगतमा चलेको १० वर्षे जनयुद्धलाई फिल्मको संज्ञा दिँदै त्यसको आधा भाग रहेको चेतावनी दिए।

‘बिगतमा चलेको १० वर्षे जनयुद्धलाई एउटा फिल्म मान्नुहुन्छ भने मध्यान्तरअघिको भाग मात्र सकिएको हो’– दाङको घोराहीमा आइतबारदेखि शुरु भएको पार्टीनिकट अखिल क्रान्तिकारीको २१औं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै पार्टी स्थायी समिति सदस्य एवं समानान्तर जनसत्ताका केन्द्रीय प्रमुख सन्तोष बुढा मगरले भन्नुभयो– ‘२०५२ देखि २०६२ सालसम्म चलेको जनयुद्ध फिल्मको पहिलो भाग थियो, मध्यान्तररूपी शान्ति प्रक्रिया सकिएको छ र अब दोस्रो भाग शुरु हुन्छ।’ एउटै फिल्ममा नायक फेरिने बिडम्वनापूर्ण अवस्था देखिएको भन्दै उहाँले थप्नुभयो– ‘पहिलो भागका नायक (प्रचण्ड) पुरानो सत्ताको अपहरणमा पर्नुभएको छ, अब नयाँ भागको नेतृत्व नयाँ नायक (विप्लव)ले गर्नुहुनेछ।’

यद्यपि उहाँले अब पुरानै जनयुद्ध भने नहुने दाबी गरे पनि अब हुने क्रान्तिको स्वरूप केही बताउनुभएन। अब अन्तिम क्रान्तिका लागि पटकपटक आह्वान गर्नुभएका बुढाले अब एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवादमा पुग्ने आफूहरूको लक्ष्य भएको बताउनुभयो।

‘अहिले संसदीय व्यवस्था स्वर्ग पुग्ने कुतीको बाटो जस्तै हो’, उहाँले थप्नुभयो– ‘संसद्बाट समाजवादमा पुगिँदैन।’ अब हुने क्रान्तिमा किसान मजदूरले नेतृत्व गर्ने दाबी गर्दै उहाँले सबैलाई साथ दिन पनि अपिल गर्नुभयो। सम्मेलन उद्घाटन गर्दै पार्टी महासचिव विप्लव आउने भनिए पनि अन्तिममा सन्तोष बुढा आएका थिए। विप्लवलाई पक्राउ गर्न प्रहरीले वारेन्ट जारी गरेकाले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै विप्लवको ठाउँमा बुढालाई अतिथि बनाइएको एक विद्यार्थी नेताले बताए।

फागुन ३० गतेसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने संगठनका अध्यक्ष पूर्णबहादुर सिंहले जानकारी दिनुभयो। सम्मेलन उद्घाटनमा जिल्लाका धेरै निजी तथा सामुदायिक विद्यालयबाट ठूलो संख्यामा विद्यार्थी सहभागी गराइएको थियो।
प्रायः कार्यक्रममा विद्यार्थी नपठाउने निजी विद्यालयले व्यानरसहित विद्यार्थी सहभागी गराएका थिए। सम्बन्धित विद्यालयमा खुलेका क्रान्तिकारीका इकाइ समितिका नाममा बनाइएका व्यानरसहित निजी क्षेत्रका अधिकांश विद्यालयले विद्यार्थी पठाएका थिए। सम्मेलनका लागि विद्यालयहरूमा ठूलो रकम चन्दा मागिएको र धेरै विद्यालयले चन्दा नदिएकाले भोलि कुनै समस्या नआओस् भनेर एक दिनका लागि सबै विद्यार्थी क्रान्तिकारीको सम्मेलनमा पठाइएको एक निजी विद्यालयका शिक्षकले बताए।