सल्यानमा अझै हटेन खलोप्रथा

0
Shares

सरिता चलाउने, सल्यान
जिल्लाका ग्रामीण क्षेत्रमा अझै पनि खलो (बालीघरे) प्रथा कायमै भएको पाइएको छ। पुर्खादेखि गर्दै आइरहेको पेसालाई एकैपटक चटक्क माया मार्न नसक्दा जिल्लाका ग्रामीण क्षेत्रमा अझै पनि खलो प्रथाले प्रशय पाइरहेको हो।

बन्गाड कुपिण्डे नगरपालिका वडा न ८ ज्यामिरेका हर्कबहादुर विकले आरन चलाउन थालेको झन्डै २० वर्ष जति भयो। उनले अहिलेसम्म नगदमा कारोबार गरेका छैनन्। ५ जनाको परिवारलाई उनले खलोबाट आएको अन्नपातबाटै पाल्दै आइरहेका छन्। पुर्खाले गरिआएको पेशा भएकाले एकैपटक छोड्न गाह्रो भएको विकको भनाइ रहेको छ।

यस्तै बन्गाड कुपिण्डे नगरपालिका वडा न ४ च्युराका खिमलाल दमाईले गाउँघरमा कपडा सिलाउन थालेको झन्डै ३० वर्ष भयो।  परम्परागत पेशालाई अंगाल्दा पश्चताप नलागेको बताउदै दमाईले धेरै मानिसका कपडा सिलाउन पाउदा गर्व लाग्ने दमाईको भनाइ रहेको छ। उनले भने– ‘परिवार हेरेर ५ पाथीदेखि २ मुरीसम्म वर्षमा अन्नपात उठाउदै आइरहेको छु। वर्षभरि १ सयभन्दा बढी घरधुरीका कपडा सिलाउँदै आइरहेको छु।’

मुलखोला ५ कै भद्रबहादुर कामीले आरनको काम गर्न थालेको २४ वर्ष भयो। हर्कबहादुर झै कामीले पनि गाउँमा भएका सबै फलामे औजार पुर्याउने र औजार बनाएअनुसार अन्नपात लिने गर्दछन्। खलो प्रथाबाट घरपरिवार पाल्न समस्या भए पनि पुर्खादेखि चलिआएको चलन छोड्न गाह्रो भएको उनको भनाइ रहेको छ।