शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता

0
Shares

जन्मदिनको अवसरमा विद्यालयलाई मन्दिर हस्तान्तरण

उदयपुर, (नेस)
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सबल बनाउन विभिन्न क्षेत्रबाट प्रयास भइरहेका बेला उदयपुरको बेलका नगरपालिका–१ का विष्ट परिवार पनि त्यसको सहयात्री बनेका छन्। शिक्षाको उन्नयनसँग आफ्नो ८४औं जन्मदिनलाई जोड्दै यहाँका विष्ट दम्पतीले माध्यमिक विद्यालय आम्बासीलाई सरस्वतीको मन्दिर निर्माण गरी हस्तान्तरण गरेका हुन्।
विद्यार्थीको आस्थाको केन्द्रविन्दु रहेकाले आस्थालाई जीवन्त बनाउन गत बिहीबार विद्यालय परिसरमा ८४औं जन्मोत्सव मनाउँदै मानबहादुर विष्ट र उनकी पत्नी पूर्णमाया विष्टले श्री १०८ सरस्वती मूर्ति प्राण प्रतिष्ठान् मन्दिर विद्यालयलाई हस्तान्तरण गरेका हुन्।

बुबाको ८४औं जन्मोत्सवको कार्यक्रममा गृहजिल्ला उदयपुर आउनुभएका नेपाल पत्रकार महासंघका केन्द्रीय निर्वतमान अध्यक्ष डा. महेन्द्र विष्टले शैक्षिक जागरणलाई समृद्ध गर्न मन्दिर निर्माण गरी हस्तान्तरण गरिएको बताउनुभयो। उहाँले आफू र आफ्नो परिवारको तर्फबाट यस विद्यालयको उन्नयनका लागि भौतिक सुधार पुस्तकालयलगायतमा सकेको सहयोग गर्ने वचन दिनुभयो। विद्यालयको पूर्वाधार कमजोर रहेको र विद्यालयको स्रोत पनि पर्याप्त नदेखिएकाले आगामी दिनमा पनि विद्यालयको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, पुस्तकालय र जेहनदार विद्यार्थीका लागि प्रेरणा मिल्ने गरी सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सो अवसरमा विद्यालयले ८४ वर्षीय विष्ट र उनकी ८१ वर्षीया पत्नी पूर्णमाया विष्टको सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै शुभकामनासहित सम्मान गरिएको थियो।