भ्रष्टाचारबाट मुक्त गर्न नसके संघीयताको अर्थ हुँदैनः मुख्यमन्त्री पौडेल

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अबको १५ दिनमा सरकारले नीति तथा कार्यक्रम ल्याउने बताउनुभएको छ। चाँगुनारायण नगरपालिकाको स्थापना दिवस तथा पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले अहिले प्रदेश नम्बर ३ को सरकार ऐन, नियम, योजना र नीति तथा कार्यक्रम निर्माणमा व्यस्त रहेको बताउनुभयो। अबको ६ महिनाभित्र जनताले अनुभूति गर्ने गरी काम गर्ने बताउँदै उहाँले सरकार अहिले त्यसको तयारीमा रहेको बताउनुभयो।

प्रदेश सरकारको अहिले टेक्ने ठाउँसमेत नभएको गुनासो गर्दै उहाँले भन्नुभयो– ‘प्रदेश सरकारको त अहिले बस्ने ठाउँ पनि छैन, नगरपालिका र गाउँपालिकाका प्रमुख स्थानीय सरकार चलाएर बसेका छन्, प्रधानमन्त्री बालुवाटारमा तर प्रदेश सरकार नयाँ भएकाले टेक्ने ठाउँ पनि छैन।’ प्रदेश सरकारले तत्काल केही गर्न सक्ने अवस्था नरहेको बताउँदै उहाँले अहिले सरकारको तयारी मुलुकलाई समृद्ध बनाउन र नागरिकलाई खुसी पार्नका लागि भइरहेका बताउनुभयो।

जनतामा असीमित विकास र समृद्धिको चाहना रहेको बताउँदै उहाँले विगतका प्रतिबद्धताअनुसार काम गर्न नचुक्ने बताउनुभयो।जनताले भ्रष्टाचार र माफियाको सञ्जाल तोड्नका लागि आवाज बुलन्द गर्नुपर्नेमा जोड दिँदै सरकार त्यसतर्फ सचेत र सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। मुख्य मन्त्री पौडेलले सरकारी कार्यालय दलाली र माफियाका कब्जामा रहेको बताउँदै उहाँले आमनागरिकलाई माफियाहरूले कामै गर्न नसक्ने अवस्थामा पुर्याएको बताउनुभयो।

‘सरकारी कार्यालयहरूमा संस्थागतरूपमै भ्रष्टाचार भइरहेको छ, पैसा नखुवाइकन काम गर्न सक्ने अवस्था नै छैन, जहाँ गयो त्यही भ्रष्टाचार’, मुख्यमन्त्री पौडेलले भन्नुभयो– ‘सारा माफियाको सञ्जाल फैलिएको छ, जहाँ गए पनि दलाललाई नसमातिकन काम गर्न सकिदैन, सबै कार्यालय दलालहरूले कब्जा गरेका छन्।’
हरेक ठाउँमा माफियाहरूले कार्यालय कब्जा गरेर बसेको बताउँदै आम सेवाग्राहीलाई माफियाहरूले घुमाइरहेको उहाँको भनाइ थियो। उहाँले भन्नुभयो– ‘सरकारको करोडौं रुपियाँ माफियाकहाँ पुग्छ, उठ्नुपर्ने राजस्व जम्मा हुँदैन, राजस्व सरकारी ढुकुटीमा जम्मा हुँदैन, यस्तो माफियाको जालोलाई नतोडेसम्म देशमा सुशासन र समृद्धि आउँदैन।’ भ्रष्टाचारको जालोलाई च्यात्दै भ्रष्टाचारको अन्त्य गर्नुपर्ने बताउँदै उहाँले त्यसका लागि सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो। सबैले प्रतिबद्ध भएर लागे देशलाई भ्रष्टाचारमुक्त बनाउन सकिने बताउँदै मुख्यमन्त्री पौडेलले भन्नुभयो– ‘अबका दिनमा यो मुलुकलाई भ्रष्टाचारमुक्त बनाउनु पर्छ, अब हामी वचन दिन्छौं, भ्रष्टाचारबाट देशलाई मुक्त गर्छौं।’

देशलाई भ्रष्टाचारबाटमुक्त गर्न नसके संघीयताको अर्थ नहुने टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘देशमा संरचना नयाँ छ, संघीयता नयाँ छ, हामी नयाँ छौं, तर नयाँ हुँदाहुँदै पनि पुरानो ध्वस्त भएर मक्किएको संरचना र कानुन जसले मुलुकलाई भ्रष्टाचार गर्न मात्र सिकाएको छ, भ्रष्टाचार गर्नका लागि बाटो खोलिदिएको छ, त्यस्ता कानुनहरूको अन्त्य गरेर, ढिलासुस्ती गर्ने कुराबाट यो देशलाई हामी मुक्त गराउँछौ, यो मुलकुलाई परिवर्तन गरेर नेपालीको मुहारमा हाँसो ल्याउँछौं, यो हाम्रो प्रतिबद्धता हो।’

सांगदहमा आयोजित कार्यकममा बोल्दै चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले आजबाट नगरपालिका पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा भएको बताउँदै नगरपालिकाले स्वास्थ्यको सबै जिम्मेवारी पूरा गर्ने बताउनुभयो। उपप्रमुख बिना बास्तोला र स्वास्थ्यकर्मी अनिल ढुंगेललगायतले पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणाअनुसार निरन्तर काम गर्ने बताउनुभयो।कार्यक्रममा प्रदेश नं.३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल, सामाजिक विकासमन्त्री युवराज दुलाललगायत प्रदेशसभाका सदस्यहरूलाई सम्मान गरिएको थियो।कार्यक्रममा नगरपालिकामा बस्दै आएका २० जना ज्येष्ठ नागरिक र स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको थियो।

खुल्ला चौरमा आयोजित कार्यक्रम आकस्मिक वर्षाका कारण करिब एक घण्टा स्थगित गरी सारेर पछि नजिकै रहेको अपांगता समन्वय केन्द्रको हलमा आयोजना गरिएको थियो। प्रतिकूल मौसमका कारण कार्यक्रममा अतिथिको तर्फबाट मुख्यमन्त्री पौडेलले मात्र सम्बोधन गर्नुभएको थियो।कार्यक्रममा भक्तपुरबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद, जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, विभिन्न कार्यालयका कार्यालय प्रमुख तथा प्रतिनिधि, वडाअध्यक्ष, पत्रकार तथा स्थानीयको बाक्लो सहभागिता रहेको थियो।