बोक्सीको आरोपमा कुटपिट घटनाः देशकै बेइज्जत भएको प्रधानमन्त्री कार्यालयको ठहर


नेपाल समाचारपत्र, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–५ मा २० वर्षीया राधा चौधरीमाथि बोक्सीको आरोप लगाई कुटपिट गर्ने दोषिलाई कडा कारवाही गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले कुटपिटमा संलग्न व्यक्तिलाई तत्काल यथार्थ छानबिन गरी दोषीलाई कारवाही गर्न जिल्ला प्रशाशन कार्यालय कैलालीलाई निर्देशन दिएका हुन्। राधा चौधरीलाई बोक्सीको आरोप लगाउँदै आफूलाई भोलेबाबा बताउने स्थानीय झाँक्री रामबहादुर चौधरीले घन्टौंसम्म कुटपिट गरेको आरोप छ । त्यस घटनामा संलग्न दोषीलाई कारवाही गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको हो ।

अभियुक्त रामबहादुर चौधरीलाई प्रहरीले छानबिनका लागि पक्राउ गरेपछि कानुनी कारवाहीको प्रक्रियामा जान नदिई उनलाई छोडिएकोमा दुःख व्यक्त गरिएको छ। प्रधानमन्त्रीको जारी विज्ञप्तिमा ‘मानवताविरुद्धको यस्तो जघन्य अपराधमा संलग्न जो कसैलाई पनि उन्मुक्ति हुन सक्दैन र दिइनेछैन’ भनिएको छ।

‘नेपाल लगायत विश्वले अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेको दिन नै घटेको यस्तो गम्भीर घटनाले अन्धविश्वास र कुरीतिको जरा समाजको तल्लो तहमा फैलिएको प्रष्ट भएको छ। यस घटनाले आधुनिक मानवीय चेतना र सभ्यतालाई नै अपमान गरेको छ र देशकै बेइज्जत गरेको कुरा पनि उक्त विज्ञप्तीमा समावेश गरिएको छ ।