अस्पतालको शय्याबाट प्राणको भिख माग्दै कपिल

0
Shares

कृष्णउदास खनाल, भरतपुर
भरतपुर अस्पतालको स्पाइनल इन्जुरी कक्षको २ नम्बर शय्यामा एक युवक अर्धचेत अवस्थामा सुतिरहेका छन्। साथमा रहेकी उनकी पत्नी उनको शरीर सुमसुम्याइरहेकी छिन्। गोरखा जिल्लाको अजिरकोट गाउँगालिकाको वडा नम्बर १ का कपिल अधिकारीका लागि जीवनको सबैभन्दा पीडादायी दिन फागुन १२ गते बन्यो। घर बनाउनका लागि रूख काट्न गएका अधिकारीलाई आफैले काटेको रूख आएर थिचेपछि उनी अहिले अर्धचेत अवस्थामा छन् भने उनकी पत्नी शान्ता उनको शरीरको स्याहर गर्दै बलिन्द्र आँसु झार्दै छिन्।

दुई नाबालक छोरीका पिता रहेका कपिल उमेरले भर्खर साढे तीन दशक मात्रै काटेका छन्। जीवनमा धेरै काम गरेर आफ्नो र परिवारको भविष्य सुन्दर बनाउने सपनामाथि अहिले कपिल र शान्ताको जीवनमाथि कालो बादल मडारिएको छ। आर्थिक अवस्था निकै कमजोर रहेको अधिकारी परिवार अहिले सहयोगीको खोजीमा रहेको छ।

ढाडमा गम्भीर चोट लागेका कारण अस्पतालमा लामो समय बस्नुपर्ने उपचारमा संलग्न चिकित्सकहरूले बताएको शान्ताले नेपाल समाचारपत्रलाई बताइन्। ‘अपरेशन गर्दा दुई लाख सकियो अझै कति लाग्ने हो ठेगान छैन।’ –शान्ताले भनिन्। गोरखाको घर र जग्गा बिक्री गरेर भए पनि पतिको उपचार गर्ने तयारीमा रहे पनि पहाड भएका कारण घर जग्गा नै बिक्री नहुँदा उपचारमा समेत समस्या भएको उनले गुनासो गरिन्।

शान्ताको कांधमा पति कपिलको मात्रै जिम्मेवारी छैन। आफू अस्पतालमा बसेपछि घरमा रहेका दुई छोरीहरूको बिजोग भएको पीडा छ। घरमा उमेरले झण्डै आठ दशक पुग्न लागेका सासू र ससुरा रहेका छन्। उनीहरूलाई छोरा र बुहारीको साथ अहिले चाहिएको छ तर छोराको यस्तो अवस्था देखेर ससुरा बेला बेलामा बेहोस हुने गरेको खबर घर (गोर्खा)बाट आएको शान्तले बताइन्। श्वासप्रश्वाससम्बन्धी समस्यामा रहेका कपिलका पिता चूडामणि अधिकारीको अवस्था पनि दयनीय बन्दै गइरहेको छिमेकी सुनिता अधिकारीले फोनमा नेपाल समाचारपत्रलाई बताइन्।

खर्च अभावकै कारण आफूले पतिको उपचार राम्रोसँग गर्न नसकेको शान्ताले बताइन्। उनले सहयोगी मनहरूलाई आफ्नो वाणिज्य बैंक भच्चेक शाखामा रहेको ३२००००२२१९१० मा रकम जम्मा गरिदिन वा भरतपुर अस्पतालमा आएर सहयोग गरिदिन नेपाल समाचारपत्रमार्फत अपील गरेकी छन्। पति अशक्त भए आफ्नो र छोरीहरूको समेत जीवन नै अशक्त हुने भएकाले सहयोगका लागि सबै मनहरूलाई उनले अपील गरेकी छन्।