अभिभावक भेलामा जेष्ठ नागरिक सम्मानित

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
विद्या आर्जन सेकेन्डरी स्कुल मूलपानीको २७औं वार्षिक उत्सव एवम् अभिभावक भेला विविध सांस्कृतिक कार्यक्रमबीच भव्यरूपमा सम्पन्न गरियो। उक्त कार्यक्रममा कागेश्वरीमनहरा नगरपालिका वडा नं.६ का सबैभन्दा जेष्ठ नागरिक र विद्यालयलाई उत्कृष्ट योगदान पुर्याउने शिक्षक शिक्षिकालाई सम्मान गरिएको थियो। विद्यालयका संस्थापक अध्यक्ष एवम् स्थानीय शिक्षासेवी गोविन्दप्रसाद गजुरेलको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि क्षेत्र नं.२ का माननीय सांसद मणिराम फुँयालले ९७ वर्षीया कान्छी थापा र ८२ वर्षीय श्यामप्रसाद दवाडीलाई कदरपत्र एवम् दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो। अभिभावक भेला तथा जेष्ठ नागरिक सम्मान कार्यक्रलाई शुभकामना मन्तव्य राख्दै सांसद फुँयलले स्थानीय बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकामा विद्यालयको मुक्तकण्ठले प्रशंसा गर्नुभयो। स्वागत मन्तव्य राख्दै विद्यालयका प्रधानाध्यापक रमेश घिमिरेले विद्यालय गुणस्तरीय शिक्षा दिन प्रतिबद्ध रहेको बताउनुभयो। अबका दिनमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई कुनै पनि किसिमको पछुतो हुन नदिने प्रतिबद्धता जनाउनुभयो।

वडा नं ६ का अध्यक्ष प्रकाश फुँयाल, स्थानीय अभिभावक सीताराम कार्कीलगायतले कार्यक्रमलाई सम्बोधन गर्दैे २७ वर्षे लामो इतिहास बोकेको यस विद्यालयले गुणस्तरीय शिक्षा दिई एसईईमा उत्कृष्ट नतिजा ल्याएर अभिभावकको मन जित्न सफल रहेको बताउनुभयो। उक्त कार्यक्रममा विद्यालयलाई विशेष योगदान पुर्याउने शिक्षकशिक्षिकालाई सम्मान गरिएको थियो। औपचारिक कार्यक्रमको समापन गर्दै सभापति गजुरेलले यस क्षेत्रमै उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको यो विद्यालय नाफामुखीभन्दा सेवामुखी भावनाले गर्दा अभिभावकको साथ सहयोग पाएर यहाँसम्म आउन सफल भएको स्मरण गर्नुभयो।