‘चैत पहिलो साता मात्र सरकार विस्तार’



काठमाडौं, (नेस)
सरकार गठन भएको एक महिना पुग्न लाग्दासमेत प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिष्दलाई पूर्णता दिन सक्नुभएको छैन। दोस्रोपटक सरकार विस्तार गरे पनि अझैसम्म सरकारले पूर्णता पाउन सकेको छैन।

ओली नेतृत्वको सरकारमा हाल ६ जना मात्र मन्त्री रहेका छन्। अझै ११ मन्त्री थप गर्न बाँकी रहेको छ। मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा मन्त्रालयका कामसमेत प्रभावित बन्न पुगेको छ। मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्दा ११ मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री ओलीले नै सम्हाल्दै आउनुभएको छ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय बाँडफाँडमा भागवण्डा मिले पनि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीलाई सरकारमा सहभागी गराउने गृहकार्य प्रधानमन्त्री ओलीले अगाडि बढाउँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदै आएको छ। संघीय समाजवादी फोरमले सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ।
तर कतिवटा मन्त्रालय लिने भन्ने विषय अझै टुंगा नलागिसकेको बताइएको छ।

फोरम र राजपा पनि सरकारमा सहभागी भएको अवस्थामा एमाले र माओवादी केन्द्रले भागवण्डा गरेको मन्त्रालयको संख्या घट्नेछ। राष्ट्रपति, सभामुखको निर्वाचनलगायतको विषयका कारणले पनि सरकार विस्तारमा केही ढिला भएको जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले बताउनुभयो। फोरमले सरकारमा सहभागी हुने औपचारिक निर्णय गरे पनि राजपाले सरकारमा जाने औपचारिक निर्णय गरेको छैन्।

नेकपा एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले आगामी चैतको पहिलो सातामा मात्र सरकारले पूर्णता पाउने बताउनुभयो। उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले तराई केन्द्रित दललाई पनि सरकारमा ल्याउन पहल जारी राख्नुभएको तथा राष्ट्रपति⁄सभामुख पदको निर्वाचन पनि यसैबीचमा भएकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताउनुभयो।
सचिव भट्टराईले भन्नुभयो– ‘सरकारलाई राष्ट्रियस्वरूप दिन अन्य दललाई पनि समेटेर लैजान हामी खोजिरहेका छौं।’ प्रधानमन्त्री ओलीले तराई केन्द्रित दलले माग गरेको संविधान संशोधनमा जनताको हित र आवश्यकताका आधारमा लचिलो हुन आफू तयार रहेको बताउँदै आउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्