गलकोटमा ‘क्यानोनिङ’को सफल परीक्षण

0
Shares

बागलुङ  ।  गलकोट नगरपालिका–३ हटियास्थित सहस्रधारा झरनामा साहसिक खेल क्यानोनिङ (छाँगारोहण) को सफल परीक्षण भएको छ । क्यानोनिङका विज्ञ रामबहादुर गुरुङसहितको टोलीले सम्भाव्यता अध्ययनपछि बिहीबार ‘क्यानोनिङ’ अभ्यास गरेका थिए । जिल्लामै पहिलोपटक ‘क्यानोनिङ’ खेलको गन्तव्य पहिचान भएको वडा नं. ३ का अध्यक्ष वीरजंग भण्डारीले बताए ।

 

उनकै पहलमा ७५ मिटर उचाइको सहस्रधारामा ‘क्यानोनिङ’ शुरु गर्ने योजनाले सार्थकता पाएको हो । ओझेलमा परेको सहस्रधारा झरना ‘क्यानोनिङ’कै कारण एकाएक चर्चामा आएको छ । साहसिक खेलमा रमाउन चाहाने आन्तरिक तथा बाह्य पर्यटकलाई ‘क्यानोनिङ’ले आकर्षित गर्ने अध्यक्ष भण्डारीले प्रष्ट्याए ।‘थप पूर्वाधार विकास गरेर सहस्रधारा झरनालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्छौं,’ उनले भने, ‘क्यानोनिङ खेलले यसको महत्वलाई उजागर गरेको छ ।’ वडा कार्यालयले चालू आवमा छुट्याएको बजेटबाट ‘क्यानोनिङ’ खेलको सम्भाव्यता अध्ययनको काम भएको हो ।

 

‘क्यानोनिङ’ खेलको दीगो विकासका लागि पूर्वाधार तयारीदेखि प्रचारप्रसारलाई तीव्र पारिने भएको छ । स्थानीय युवालाई तालीमको लागि पोखरा पठाउने तयारी भएको अध्यक्ष भण्डारीले बताए । गलकोट नगरपालिकाका प्रमुख भरत शर्माले यस क्षेत्रको पर्यटन विकासमा ‘क्यानोनिङ’ले टेवा पुर्याउने  विश्वास व्यक्त गरे । ‘पर्यटकीय सम्भावना भएर पनि गलकोट ओझेलमा छ,’ उनले भने, ‘यसले पर्यटक भित्र्याउन पक्कै सघाउ पुग्छ ।’

 

पानी बगिरहेको झरनामा डोरीको सहायताले फेदबाट उक्लिएर डाँडामा पुग्ने र पुनः तल ओर्लने कार्य नै ‘क्यानोनिङ’ हो । परीक्षण अभ्यासमा ‘क्यानोनिङ’ गर्नुभएका वडा अध्यक्ष भण्डारीले यस खेलबाट आफूले रोमाञ्चक अनुभव बटुलेको बताए । सदरमुकामदेखि ४५ किमिको दूरीमा अवस्थित सहस्रधारा झरना पुग्न हटियादेखि ३० मिनेटको पैदलयात्रा तय गर्नुपर्छ । सन् २००७ बाट नेपालमा शुरु भएको ‘क्यानोनिङ’ कास्की, पर्वत, मनाङ, लमजुङ, काभ्रे, सिन्धुपाल्चोक, सुनसरी, नुवाकोट लगायतका जिल्लामा सञ्चालित छ ।