यस्ताे रह्याे आवाजबिनाको फोटो प्रर्दशनी

0
Shares

काठमाडौं । डल्लु आवासस्थित मोर्डन नेपाल एकेडेमीले बिहीबार विविध कार्यक्रमका बीच आफ्नो अभिभावक दिवस मनाएको छ। दिवसको मूल आकर्षण भने सोही विद्यालयकी पूर्वविद्यार्थी इनिमा महर्जन बनिन्।

श्रवण शक्ति नभएकी १७ वर्षीय महर्जनले काठमाडौं उपत्यकाका अधिकांश र लुम्बिनीको समेत सम्पदाका ३० वटा तस्वीरको एकल फोटो प्रदर्शनी गरिन्। प्रदर्शनीमा राखिएका तस्वीर विगत ३ महिनाको अवधिभित्र खिचिएका हुन्। कार्यक्रमका अतिथि, शिक्षक, अभिभावक र विद्यार्थीले उनले खिचेका तस्वीर व्यावसायिक फ्रोटोग्राफरका भन्दा कमजोर नभएको बताए।

कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिका–१५ का वडा अध्यक्ष ईश्वरमान डंगोल, नेपाली सेनाका पूर्वमहासेनानी एवं सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार डंगोल, जिल्ला शिक्षा कार्यालयका अधिकारीलगायतले इनिमाले कैद गरेका तस्वीर परिपक्व रहेको बताए। उनको पहिलो फोटो प्रदर्शनी यसअघि लुम्बिनीमा भइसकेको छ। ‘आवाजबिनाको फोटो प्रर्दशनी’ शीर्षकको दुईदिने प्रदर्शनी गतपुस अन्तिम सातामा भएको थियो।