भारतीय आर्किटेक्ट बालकृष्ण सम्मानित

0
Shares

नयाँदिल्ली, (एजेन्सी)
भारतका नब्बे वर्षीय आर्किटेक्ट बालकृष्ण दोषीले कम खर्चमा भवन निर्माण क्षेत्रमा उल्लेखनीय योगदान दिएबापत यस वर्षको प्रतिष्ठित प्रित्जकर प्राइज जितेका छन्। आर्किटेक्टहरूको सबैभन्दा ठूलो सम्मान मानिने यो पुरस्कार जित्ने दोषी पहिलो भारतीय हुन्।

पचासको दशकमा फ्रान्को–स्विस समकालीन ली कोर्बुजियरसँग काम गर्नका लागि पेरिस जानुअघि उनले मुम्बईमा अध्ययन गरेका थिए। आगामी मे महिनामा क्यानाडाको टोरोन्टोमा आयोजना हुने एक विशेष कार्यक्रममा दोषीलाई एक लाख अमेरिकी डलर धनराशीको यो पुरस्कार दिइने भएको छ।

यसअघि यस पुरस्कारबाट सम्मानित हुनेहरूमा सिड्नी ओपेरा हाउसका डिजाइनर जोर्न उत्जोन, ब्राजिलका ओस्कार नियमेर र बेलायती–इराकी डिजाइनर जाहा हादिद रहेका छन्। प्रित्जकरका निर्णायक टोलीले बालकृष्णले जहिले पनि परम्परागत तरिकाबाट अलग्गै रहेर गम्भीर र सृजनशील वास्तुकला निर्माण गरेको जनाएका छन्।

दोषीले एक विज्ञप्तिमार्फत पुरस्कार निर्णयक टोलीलाई धन्यवाद दिँदै आफ्नो काम वास्तुकलाको सम्पत्ति निर्माणका लागि आफ्नो लामो जीवन, दर्शन र सपनाहरूको प्रयास भएको जनाएका छन्।