त्रिविको जग्गा हडप्न होडबाजी



ईश्वरराज ढकाल, काठमाडौं
त्रिभुवन विश्वविद्यालयको नाममा रहेको ५ सय २५ रोपनी जग्गा विभिन्न निकायले हडपेको भए पनि ती जग्गा फिर्ता लिन त्रिवि असफल भएको छ। सबै सरकारी निकायको आँखा लाग्न पुगेको त्रिविको ती जग्गा एक दर्जनभन्दा बढी निकायले भोगचलन गरिरहेका छन्।

केही जग्गा त्रिवि आफैले उपलब्ध गराएको छ भने केही जग्गा विभिन्न निकायले जबर्जस्तीरूपमा भोगचलन गर्दै आएका छन्। त्रिवि परिसरमा ३ हजार ४२ रोपनी जग्गामध्ये कति जग्गा त बाटो विस्तार गर्ने नाममा कीर्तिपुरवासी र त्रिविसँगै जोडिएका बस्तीले हडपिसकेका छन्।

त्रिविको सामन्य प्रशासन महाशाखाको सम्पत्ति व्यवस्थापन तथा निर्माण शाखाका अनुसार महानगरीय प्रहरी वृत्त कालीमाटीले १ रोपनी, प्रहरी वृत्त कीर्तिपुरले ३ रोपनी, आयुर्वेद क्याम्पस नजिक गणतन्त्र स्तम्भ निर्माण गर्न ६० रोपनी, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले २४ रोपनी, वागवानी विकास केन्द्रले २ सय ८१ रोपनी, ल्याबरेटोरी स्कुलले १ सय ८ रोपनी, आँखा केन्द्रले भवन निर्माण गर्न १० रोपनी, ब्लड बैंकले ३ रोपनी, सत्संगले १३ रोपनी जग्गा भोगचलन गर्दै आएका छन्।

तीबाहेक बीपी प्लानेटोरियम, नेपाल बैंक लिमिटेडले कति जग्गा भोगचलन गरेको हो भन्ने तथ्याङ्क छैन। वागवानी विकास केन्द्र, ल्याब स्कुल र सत्संगले जबजस्तीरूपमा भोगचलन गरिरहेको सम्पत्ति व्यवस्थापन तथा निर्माण शाखा प्रमुख उपप्रशासक निलमप्रसाद पोखरेलले जानकारी दिनुभयो। ल्याब र सत्संगले भोगचलन गरेको जग्गा पटक पटक हटाउने प्रयास गर्दा पनि त्रिवि असफल भएको छ। त्रिविका रजिष्ट्रार डिल्लीराम उपे्रतीले त्रिवि परिसरमा रहेको जग्गा भोगचलन गर्ने निकायको संख्या बढेको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘अब संरक्षण गर्न शुरू गरेका छौं, त्रिवि र यसअन्तर्गत सञ्चालित सबै निकायले भोगचलन गरेको जग्गाको विवरण तयार गर्न लागेको छौं।’ त्रिविले जग्गा खोजविन गर्न कमिटी गठन गरेको उप्रेतीको भनाइ छ। त्रिविले आफ्नो सम्पत्ति संरक्षण गर्न नकसेको कारण त्रिविको जग्गामा विभिन्न निकायले आँखा लगाउन थालेका छन्।

केयूकेएलले त्रिविको नाममा बक्यौता रहेको रकममध्ये ३ करोड मिनाहा गर्ने, त्रिवि परिसरमा खानेपानीको व्यवस्था गर्ने, कीर्तिपुरमा पानी व्यवस्थापनको लागि पाइप बिच्छइउनेलगायतको सर्त राखेर २४ रोपनी जग्गा लिएको त्रिविले जनाएको छ।

त्रित्रिले गणतन्त्र स्तम्भ बनाउन सरकारले लिएको जग्गा तत्काल नदिने जनाएको छ। अघिल्लो पदाधिकारीहरूको कार्यकालमा सम्झौता भएको भनिए पनि सम्झौता गरेको कुनै प्रमण नभएको त्रिविले दाबी गरेको छ। नारायणहिटी दरबार परिसरमा गणतन्त्र स्मारक बनाइसकेको अवस्थामा त्रिविमा स्तम्भ बनाउन आवश्यक नभएको भन्दै त्रिविका पदाधिकारीले तत्काल सो जग्गा उपलब्ध नगराउन सरकारलाई दबाब दिँदै आएका छन्।

त्रिविले ३ हजार ४३ रोपनी जग्गा रहेको भने पनि सो हालसम्म कुनै नापाजाँच भएको छैन। पछिल्लो समय जग्गा संरक्षण गर्न भन्दै केही स्थानमा तारबार गर्ने काम शुरू गरिरहेको छ।

त्रिवि आफूले सम्हाल्नै नसक्ने जग्गा भएपछि नर्सरी, ग्यारेज, इँट्टा, बालुवाको डिपो राख्नेले भाडामा जग्गा माग्न थालेका छन्। त्रिवि परिसरमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्ड भने त्रिविले भाडामा दिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्